विपक्षी दलहरु सरकारमाथि आक्रामक पेश हुन थालेका छन्। दलका शीर्ष नेताहरुले जेनजी आन्दोलनपछिको अवस्थालाई नै असंवैधानिक भनिरहेका छन भने उनीहरुले अहिलेको सरकार प्रतिगमनतर्फ हिडेको आरोप लगाइरहेका छन्। यतिमात्रै नभई केहि नेताहरुले त जेनजी आन्दोलनपछि देशलाई अर्कै बाटोमा लैजान खोजेको भन्दै गम्भीर आरोप समेत लगाइरहेका छन्।
नेपालको राजनीतिक कोर्ष अघि बढिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेको छ। सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासमा केन्द्रित हुने जिकिर गरिरहेको छ। तर, पुराना दलका शीर्ष नेताहरुले भने अहिलेको राजनीतिक परिस्थितिलाई असामान्य भनिरहेका छन्। सरकारमाथि संगिन आरोप लगाइरहेका छन्।
सरकार बहुमतको आडमा गलत बाटो हिडिरहेको आरोप चर्किएको छ। तर, जनमतको सम्मान गर्ने भन्दै सरकारले भने नियमित काममात्रै नगरि सुशासनको पक्षमा काम गर्ने जिकिर गर्दै आएको छ। तर, राजनीतिक दलका नेताहरुले भने जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई असंवैधानिक नै भन्न थालेका छन्।
एमालेले जेनजी आन्दोलनपछिको अवस्थालाई हिंसा, आगजनी, तोडफोडको संज्ञा दिएको छ भने जेनजी आन्दोलनलाई बाह्य षडयन्त्रको रुपमा समेत ब्याख्या गरिरहेको छ। यता, एमालेले जस्तै रास्वपा नेतृत्वको सरकारले सहि दिशा समात्न नसकेको, प्रतिगमनलाई स्थापित गर्न खोजेको र लोकतान्त्रिक पद्धतिमाथि नै छेडखानी गर्न थालिएको आरोप नेपाली कम्युनिस्ट पार्टीको देखिन्छ।
नेकपाले तत्काल सहकार्य सदन, सडक र सम्भावना भएका ठाउँमा तत्काल गर्नुपर्ने भनिरहेका छन्। यसरी नै दलहरुमा एकखाले वेचैनी बढेको बेला सरकार विपक्षीको निशानामा परिरहेको छ। तर, सत्तारुढ दल रास्वपाले संविधान, लोकतन्त्र र देशको सार्वभौमिकताप्रति शंका नगर्न भनिरहेको छ।
यसरी सत्ता र प्रतिपक्षीबीच चलिरहेको जुहारीकाबीच नेकपाका संयोजक प्रचण्डले पछिल्लो समय आक्रामक शैलीमा नयाँ विषयमा बहस चलाउन थालेका छन्।
गण्डकी पुगेर प्रचण्डले के भने?
जेनजी आन्दोलनको दिन काठमाडौंमा नयाँ स्थिति देखा परेको प्रचण्डको दाबी छ। प्रचण्डले जेनजी आन्दोलनको बेला काठमाडौंमा नारायणहिटी दरबार सफा गर्न निर्देशन दिइएको र सरसफाई समेत चलेको गम्भीर विषय उठाएका छन्। गण्डकी प्रदेशस्तरिय भेलालाई सम्बोधन गरेका प्रचण्डले भनेका छन्, ‘नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अकैं युगमा जाँदैछ भन्ने चर्चा परिचर्चा हुँदै थियो । पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन् ।,’
जनता र नेताको सम्बन्धमा दरार देखिएको स्वीकार गरेका प्रचण्डले नारायणहिटी सफा गर्ने विषयले नै धेरै कुराको संकेत गर्ने भन्दे त्यो दिन राजसंस्था फिर्ता ल्याउने अभ्यास चलेको विषयलाई सांकेतिक रुपमा देखाउन खोजेका छन्।
यस्तो परिस्थितिकाबीच तत्कालीन प्रधानमन्त्री केपी ओलीकै सिफारिसका कारण पनि गैरदलीय सरकार निर्माणमा सहमति जुटाएको दाबी गरेका छन्। उसोतः यस्ता अनुमान र आरोपहरु आउनेक्रम बढ्न थालेको छ। तर, राजनीतिक रुपमा सत्ता र प्रतिपक्षीबीचको यस्तो जुहारीका कारण पनि राजनीतिक तरलता थप बढ्ने संकेत देखिन थालेको छ ।