जेनजी आन्दोलन हिंसा होइन, दमनको परिणाम थियो: महाधिवेशन प्रतिनिधि हेम ढुङ्गेल

जेनजी आन्दोलन हिंसा होइन, दमनको परिणाम थियो: महाधिवेशन प्रतिनिधि हेम ढुङ्गेल

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधि हेम बहादुर ढुङ्गेलले महान्यायाधिवक्ताको कार्यालयले जेनजी आन्दोलनताकाका फौजदारी मुद्दाको पेशी स्थगित गर्ने निर्णयप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।

एक विज्ञप्तिमा उहाँले भन्नुभएको छ, “जेनजी जनआन्दोलन कुनै हिंसा वा अराजकता फैलाउने आन्दोलन होइन। यो परिवर्तन, जवाफदेहिता र सुशासनको पक्षमा उठेको पुस्ताको आवाज हो।”

ढुङ्गेलले सडकमा ज्यान गुमाउनु र अंगभंग हुनु कसैको रोजाइ नभएको भन्दै राज्यले जनताको भविष्यमाथि गरेको बेवास्ता र अन्यायकै परिणामस्वरूप आन्दोलन जन्मिएको बताउनुभयो। “२३ गते भएको घटना आन्दोलनकारीको रोजाइ होइन, राज्यको तर्फबाट भएको क्रूर दमन र हत्याको परिणाम थियो भन्ने तथ्यलाई समयले प्रमाणित गर्नेछ,” उहाँको भनाइ छ।

उहाँले मुद्दाको पेशी स्थगनलाई न्यायप्रक्रियालाई निष्पक्ष ढंगले अगाडि बढाउने सकारात्मक संकेतको रूपमा लिनुभएको छ। “हामी सत्य, न्याय र लोकतान्त्रिक अधिकारको पक्षमा दृढतापूर्वक उभिएका छौं। परिवर्तनको यो आवाज कुनै पनि दमनले रोक्न सक्दैन,” ढुङ्गेलले जोड दिनुभयो।

रास्वपाको अडान: पार्टीले सुरुदेखि नै “आक्रोश होइन, समाधान” को बाटो लिएको भन्दै ढुङ्गेलले आफूलाई “मैदानको कार्यकर्ता, कार्यालयको सेवक” को रूपमा प्रस्तुत गर्दै आउनुभएको छ।