इरानले अमेरिकासँग जारी युद्धलाई एक पटक र सधैंको लागि समाप्त गर्ने लक्ष्य राखेर पाकिस्तानमार्फत् शान्ति प्रस्ताव पठाएको छ। सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकी प्रस्तावको जवाफ दिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई मंगलबारसम्मको समयसीमा दिएपछि इरानको प्रतिक्रिया आएको हो । ट्रम्पले होर्मुज जलडमरू नखोलिएमा इरानी पावर प्लान्ट र पुलहरूलाई लक्षित गर्ने धम्की दिएका छन् ।
इरानको नेतृत्वले आफ्नो प्रतिक्रिया पठाउनुअघि लगभग दुई हप्तासम्म यसको समीक्षा गरेको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सन्देशहरू मध्यस्थकर्ताहरूमार्फत आदानप्रदान गरिएको पुष्टि गरे । तर उनले तेहरानले अमेरिकाको १५-बुँदे योजनालाई अस्वीकार गरेको बताए ।
इरानले आफ्नै सर्तहरूमा स्थायी समाधानको आवश्यकतामा जोड दिएको छ।
एजेन्सीका अनुसार, तेहरानको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, हर्मुज जलडमरूबाट सुरक्षित मार्गमा सम्झौता, पुनर्निर्माण र प्रतिबन्धहरू हटाउनेजस्ता धेरै मागहरू समावेश छन् ।
यसअघि गएराति मात्रै ट्रम्पले इरानले आफ्नो समयसीम भित्र अमेरिकासँग सम्झौता गर्न असफल भयो भने एक रातमै समाप्त गरिदिने चेतावनी दिएका छन् ।
ट्रम्पको सम्झौताअनुसार, इरानले हर्मुज जलडमरू खोल्नु पर्छ, जसबाट विश्वको २० प्रतिशत तेल आपूर्ति ढुवानी गरिन्छ।
तर, इरानले अस्थायी युद्धविराम अस्वीकार गरेको छ र द्वन्द्वको स्थायी अन्त्यको माग गरेको छ । इरानले होर्मुजको जलडमरूबाट जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्न सहयोग गर्ने र आक्रमणबाट क्षतिग्रस्त आफ्नो नागरिक पूर्वाधारको पुनर्निर्माणमा सहयोग गर्ने बताएको छ ।