फागुन २१ को चुनावबाट एमाले तेस्रो पार्टी बन्यो । पार्टीको हारको समिक्षा गर्न नपाउँदै अध्यक्ष केपी ओली प्रहरी हिरासतमा पुगे । यतिबेला ओलीको बर्हिगमन र नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ । साथै, राजनीतिक जीवनकै नैतिक संकटमा पुगेका छन् ओली । एमालेको एक पक्षले त नेतृत्व हस्तान्तरणका लागि हस्ताक्षर संकलन नै गरेर दबाब बढाएको छ ।
नेकपा एमालेमा नेतृत्व परिर्वतनको स्वर बाक्लिन थालेको छ । त्यसको प्रमुख कारण हो, फागनु २१ को चुनावमा एमालेले लज्जाष्पद हार व्यहोर्नु ।
७९ सालको निर्वाचनमा एमालेले समानुपातिकतर्फ सर्वाधिक २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो । फागुन २१को निर्वाचनमा एमालेले दोब्बर कम १४ लाख ५५ हजार ८ सय ८५ मत प्राप्त गर्यो ।
प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी २५ सिटमा खुम्चिएको एमाले भित्र ओलीको बहिरगर्मन र युवाको नेतृत्व खोजि शुरु भएको छ । जसका लागि सुरुमा ओलीलाई नैतिकता देखाउन समय दिने र नमाने विशेष महाधिवेसन मार्फत् नेतृत्व हत्याउने तयारी सुरु भएका छन् ।
एमालेमा परिवर्तन बहस चलाइरहेको समुह ओलीले नमाने पार्टी विधानले दिएको विशेष महाधिवेसनको सुविधा प्रयोग गर्नेगरी लागि परेको छ । त्यसका लागि हस्ताक्षर अभियान पनि सञ्चालन भइरहेको बताइएको छ । साथै, स्थानीय तहसम्म पुगेर हप्ताक्षर संकलनको तयारीमा युवा नेताहरु पुगेका छन् ।
नेकपा एमालेमा विशेष महाधिवेसनको पक्षमा रहेको समुहले हस्ताक्षर संकलन सुरु गरेको दाबी गरेको छ । पार्टी अध्यक्ष ओलीले सहजै नेतृत्व सुम्पिने सम्भावना नहुँदा यो पक्षले हप्ताक्षर सुरु गरेको हो । विद्यार्थी नेताहरुले पार्टी कार्यालयमै सचिवालयका नेताहरुलाई दबाब दिइरहेका छन् ।
जहाँ ओली पक्षकै नेताका रुपमा कहलिएका उपाध्यक्ष विष्णु पौडेलदेखि उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईले परिवर्तनको अन्तिम लडाई सुरु भएको संकेत गरेका छन् । ओली निकट नेताहरु भने अध्यक्ष ओली माथिको विषम पस्थितिलाई मध्यनजर राख्नुपर्ने बताउँछन् ।
सेन्टीमेन्ट क्यास गर्ने सुनौलो अवसर
सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बनाएर मोमेन्टम सिप्ट गर्न सकिने अवसर एमालेले पाएको थियो । तर एमालेले त्यसो गर्न सकेन । रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरियो ।
टिचिङ हस्पिटलको वार्ड नं ५०१ मा रहेको ओलीको ठाडो आदेशमा थापालाई संसदीय दलको नेता चयन गरिएको भन्दै पार्टीभित्रैबाट आलोचना भइरहेको छ । शंकर पोखरेलविरुद्ध युवाहरुले सडकमै नारा लगाए ।
संसदी दलको नेता चयनपछि एमाले भित्र परिवर्तनको स्वर झन बाक्लिएको छ । देश र जनताले परिवर्तन चाहेका बेला नेतृत्वले रक्षामा ध्यान दिँदा सिंगो पार्टीले बदनामी खेप्नु परेको युवा नेता नरेश रोकाया बताउँछन् ।
युवाले कांग्रेस कब्जा गर्दा एमालेमा परीक्षण
एमालेमा विशेष महाधिवेसनको कुरा उठ्दा संसदको दोस्रो ठुलो दल नेपाली कांग्रेस अहिले विशेष महाधिवेसनकै नेतृत्वबाट चलिरहेको छ । सभापति गगन थापाको नेतृत्वमा पुष अन्तिम साता भएको विशेष महाधिवेसनले निर्वाचन आयोगबाटै मान्यता पाइसकेको उदाहरण छ ।
यस्तो अवस्थामा एमालेमा पनि बहुमत प्राप्त केन्द्रीय सदस्य जुटाउन सके विशेष महाधिवेसन सफल हुने पक्का देखिन्छ । तर पार्टी नेतृत्व नै हत्याउने गरि एमालेका नेताहरु कोको अघि सर्छन्, त्यो भन्न चाँही अझै गाह्रो छ ।