राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘बिजिनेस मिट २०८२’ सम्पन्न

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना देशभरका कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने ६७ वटा शाखा कार्यालयहरुको ‘बिजिनेस मिट २०८२’ गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गर्यो । बैंक संचालक समितिका अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिकाहरु सम्बन्धमा बृहत अन्तक्रिया गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाहरुद्वारा सम्भावित ग्राहकहरुको अवस्था सहित आ-आफ्‌ना कार्ययोजना पेश गरिएको थियो । कार्यक्रममा बैंक संचालक समितिका अध्यक्षले बैंकले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्नुपर्ने र क्षेत्रगत सम्भावनालाई सेमेटेर व्यवसाय योजना बनाउनुपर्ने निर्देशन दिएका थिए । सरकारी बैंकको रुपमा हामी माथी हेर्ने दृष्टीकोणमा थप सकारात्मक बनाउनुपर्ने साथै सेवा प्रवाह चुस्त दुरुस्त गर्नुपर्ने निर्देशन दिए ।

कार्यक्रममा बैंकका संचालक समिति सदस्य हरिकुमार सिलवालले हाल बैंकको मानव संसाधन युवा र उर्जावान रहेको धारणा व्यक्त गर्दै यसलाई व्यवसाय विस्तारको अवसरमा बदल्न निर्देशन दिए । त्यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हाल बैंकमा रहेको निक्षेपलाई अवसरको रुपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रुपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा आफ्‌ना निर्देशनात्मक भनाइहरु राखेका थिए । हाल बैंकले कर्जाको गुणस्तरीयता तर्फ विशेष ध्यान दिइरहेको भनाइ व्यक्त गर्दै उनले शाखा प्रबन्धकहरुलाई कर्जा बिस्तार लक्ष्य अनुरुप गर्न र सेवाग्राहीप्रति गरिने व्यवहार, बोली वचन सकारात्मक बनाई सेवा प्रवाहमा गुनासो आउन नदिने वातावरण सृजना गर्न समेत निर्देशन दिए ।

गुणस्तरीय कर्जा विस्तारमा शाखा, प्रदेश तथा केन्द्रीय कार्यलयमा रहेका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा बैंकले विशेष जोड दिने स्पष्ट पारे । उक्त ‘बिजिनेस मिट २०८२’ कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निभाएका थिए भने औपचारिक कार्यक्रमको संचालन विभागीय प्रमुख आनन्द सुवेदीले गरेका थिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले स्वागत स्वागत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल र राम कुमार थापा, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायतको उपस्थिति रहेको थियो ।