सांसदका लागि ‘पल्स आरएसपी’ डिजिटल प्रणाली लागू गर्दै रास्वपा, आज अभिमुखीकरण

सांसदका लागि ‘पल्स आरएसपी’ डिजिटल प्रणाली लागू गर्दै रास्वपा, आज अभिमुखीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि डिजिटल माध्यमबाट व्यवस्थापन र अनुगमन गर्ने उद्देश्यले ‘पल्सआरएसपी (PulseRSP)’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको सूचनाअनुसार उक्त प्रणालीबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्न बिहान साढे १० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने अभिमुखीकरण कार्यक्रममा रास्वपाका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

रास्वपाले सांसदहरूले बैठकपछि आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमै पहिले अद्यावधिक गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटलगायत गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

पार्टीका अनुसार नागरिकले पनि आफ्नो निर्वाचन क्षेत्रका सांसदसँग यही प्रणालीमार्फत गुनासा वा सुझाव राख्न सक्नेछन् । ती गुनासोको ट्र्याकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने व्यवस्था प्रणालीमा समावेश गरिएको छ ।

यसका साथै सांसदहरूलाई साइबर सुरक्षासम्बन्धी सचेतना पनि प्रदान गरिने छ ।