कम्पनीले एक महिना काम गराउने, अर्को महिना काममा नआउ भन्ने र बिदामा बसेपछि उल्टै तलब काट्ने गरेको पीडितले बताए । ‘काममा नआउ भनेर बिदामा राखिदिन्छ, बिदा बसेपछि पैसा काटिन्छ’ उनीहरूले भने ‘कसैलाई महिनाको ४०० रियाल त कसैलाई ६०० दिन्छ, हामीलाई मासिक तलब १५०० रियाल भनिएको हो । ६०० रियालमा आफू खाने कि परिवारलाई पठाउने,’ ति नेपालीले भने ।
कम्पनीले फ्री भिसामा ल्याएको बताउने गरेको तर, आफूहरू २ लाख भन्दा बढी पैसा तिरेर गएको उनीहरूले बताए । ‘२ लाख २५ हजारसम्म तिरेर, ऋण गरेर आएका थियौं । तर, यता कम्पनीले फ्री भिसामा ल्याएको भन्छ,’ उनले भने ।
उनीहरूलाई नेपालबाट जाँदा म्यानपावर तथा एजेन्टले दैनिक १० घण्टा काम हुने, त्यसमा ९ घण्टा काम र १ घण्टा आराम हुने भनिएको थियो । तर, काम भएको दिन १० घण्टा नै खटिने गरेको बताउँछन् । ओभरटाइम गरेको एक पैसा पनि नदिने गरेको उनीहरूको भनाइ छ ।
‘जति ओभरटाइम गरेपनि पैसा दिँदैन । जाने–आउने बाटो टाढा छ । बस्ने ठाउँबाट २ देखि ३ घण्टा लाग्छ । काम भएको दिन १० घण्टा काम र आउन जान गरेर १२ देखि १६ घण्टा सम्म लाग्छ,’ एक पीडितले भने।
आफूहरूको समस्याबारे कम्पनीलाई भन्दा कुनै प्रवाह नगरेको बताउँदै नेपालमा रहेको म्यानपावर, स्थानीय एजेन्ट तथा दूतावाससँग समेत गुनासो राख्दा केही नभएको बताए । कतैबाट सुनुवाइ भएर समस्याको समाधान नभएपछि पीडितहरूले भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका छन् । तर, भिडियो बनाएर हालेपछि कम्पनीले झन दबाब दिन थालेको छ ।
‘केही सुनुवाइ नभएर बाध्य भएर हामीले भिडियो बनाएर सामाजिक सञ्जालमा समेत हालेका छौं । अहिले एक महिनादेखि नास्ता पनि दिइरहेको छैन,’ उनीहरूले भने ।
पछिल्लो १५ दिनदेखि काममा समेत नलगाइएको उनीहरूले बताए । अहिले घर पठाइदिन आग्रह गर्दा पनि २ वर्ष कटाउनैपर्ने भन्दै धम्की दिने गरिएको पीडित बताउँछन् । ‘कुट्ने, मार्ने धम्की दिन्छ, जसरी पनि २ वर्ष काट्नै पर्छ भन्छ,’ पीडितले भने । एक अर्का नेपालीले कम्पनीमा काम गर्ने सबै नेपालीको बिचल्ली भएको बताए । उनीहरू सबै जना मिलेर आवाज उठाउँदा अचेल कम्पनीले धम्की दिने गरेको छ ।
एक महिनादेखि बिहानको नास्ता समेत नदिएको बताउँदै ती नेपालीले भने, ‘एक महिनादेखि नास्ता पनि दिइरहेको छैन । कामै छैन, काम छैन भनेपछि केको नास्ता, केको खाना भनेर डर देखाउँदै सबै बन्द गरिदिएको छ ।’
तलब नपाएको ५ महिना भइसकेको बताउँदै ती नेपालीले अन्य कतिपय साथीहरूले ४ देखि ६ महिनाको तलब नपाएको बताए । ‘ट्वाइलेटका लागि पनि मस्जिदमा जान बाध्य छौं, यहाँ शौचालयमा ताला लगाइदिएको छ’ ती नेपालीले भने ।
एउटा कोठामा १० देखि २० जना सम्म बस्ने गरेको उनको भनाइ छ । इटहरीको मोबिरा ओभरसिजबाट उक्त कम्पनीमा पुगेका अर्का व्यक्तिले म्यानपावर तथा एजेन्टले कुनै वास्ता नगर्ने गरेको बताए । आफूहरू ऋण निकालेर घर परिवार छाडेर दुई चार पैसा कमाउको लागि आएको, तर काम पनि नदिने र तलब समेत नदिने गरेको उनको भनाइ छ । काम, तलब तथा सेवा सुविधा खोज्दा उल्टै धम्की तथा कारबाही गरेको बताए ।
‘यहाँ आउनुको अर्थ बालबच्चा, घर परिवारलाई दुई रुपैयाँ होस्, बालबच्चा पढाउन सकूँ, राम्रो खान सकुन् र राम्रो लुगाफाटा लगाउन सकुन् भनेर हो । तर यहाँ आउँदा झन् त्यसको विपरित भएको छ । हामीमाथि नै कारबाही हुन्छ,’ ती नेपालीले भने ‘हामी काम गर्न जाँदा दुई दिन काम गर्यौं भने त्यस पछाडि चार दिन बसाइदिन्छ ।’
बिरामी हुँदा उपचार समेत नगर्ने गरेको उनको भनाइ छ । कम्पनीले बीमा गरिदिन्छु भने पनि अहिलेसम्म नभएको उनले बताए ।


