प्रतिनिधिसभाको बैठकमा सभा सञ्चालनका लागि नियमावलीमा व्यवस्था भएका समयहरू कार्यान्वयनमा आउन थालेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयको शुरूआत भएको छ, जसमा दलीय प्रतिनिधित्व गर्दै सांसदहरूले आफ्ना विषय उठान गरेका छन् ।
तिनिधिसभाको सबैभन्दा ठूलो र पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी हो । सोमबारको बैठकमा विशेष समयमा सबैभन्दा धेरै रास्वपा सांसदहरूले नै बोल्ने मौका पाएका छन् ।
बैठकको शुरूआतमा पार्टी महामन्त्री समेत रहेका सांसद कवीन्द्र बुर्लाकोटी बोलेका थिए । उनले सभामुख डीपी अर्याललाई शुभकामना दिँदै सदनलाई प्रभावकारी बनाउन अनुरोध गरे ।
साथै, उनले सदनमा अनुहार मात्र परिवर्तन नभएको भन्दै देशलाई परिवर्तन गर्ने अनुहारहरू रहेको बताए ।
रास्वपाको भन्योः हाम्रो बहुमत एआई र अल्गोरिदमबाट आएको होइन
बैठकमा बोल्दै रास्वपा सांसद निशा डाँगीले पार्टीले पाएको झन्डै दुईतिहाइ बहुमत आकस्मिक घटना नभएको बताइन् । उनले पार्टीको बहुमत एआई र अल्गोरिदम नभएको पनि स्पष्ट पारिन् ।
यसलाई लामो समयदेखि सञ्चित जनआक्रोश र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो । ‘यो केवल अंकगणितीय बहुमत होइन, यो जनताको पुनर्जागरणबाट जन्मिएको सदन हो । रास्वपाले प्राप्त गरेको झन्डै दुईतिहाइ बहुमत आकस्मिक घटना वा एआई र अल्गोरिदमको खेल होइन,’ उनले भनिन् ।
२१ फागुनमा भएको निर्वाचनबाट रास्वपाले प्रत्यक्ष र समानुपातिक गरेर १८२ सीट जितेको थियो । नेकपा एमालेले रास्वपालाई आएको बहुमतबारे पहिलो दिनकै प्रतिनिधिसभा बैठकमा एनजीओदेखि सामाजिक सञ्जाल र सेना समेतको भूमिका रहेको भन्दै कटाक्ष गरेको थियो । जसको जवाफ निशाले आजको बैठकबाट दिएकी हुन् ।
यस्तै, विशेष समयमै बोल्दै रास्वपा सांसद खगेन्द्र सुनारले दलित समुदायमा जातको आधारमा हुने भेदभाव र हत्याको विषयमा आवाज उठाए । उनले रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जनाको जातका कारण हत्या भएको विषयदेखि इनिशा विकको बलात्कार र हत्यासम्मको विषय उठान गरे ।
‘अजित मिजारको लास अझै पनि अस्पतालमा थन्किएर बसेको छ,’ उनले भने, ‘यो १२ वर्षको बीचमा धेरै दलित समुदायका धेरैको बलात्कार भएको छ, हत्या भएको छ ।’
हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर लामो समयदेखि प्रश्न गरेको पनि उल्लेख गरे ।
रास्वपाबाटै बोलेका अर्का सांसद मनिष झाले दक्षिण एसियाकै उत्कृष्ट संसद् आफूहरूले परिकल्पना गरेको र उक्त परिकल्पना साकार भएको स्पष्ट पारे ।
उनले यसअघिको सदन खुमलटार, बालुवाटार, बालकोटको बन्दी भएर बसेको भन्दै अब सदन सिद्धान्तको हुनेछ भनी प्रस्तुत गर्ने पालो आएको बताए ।
चिया चौतारी नभएको भन्दै उनले सदन गुरुकुल र विश्वविद्यालय हुनुपर्ने धारणा राखे ।
विदेशी ऋणको विषयमा सदनमा खोज्यो राप्रपाले सरकारको जवाफ
सोमबारको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारबाट जवाफ खोजेको छ । विशेष गरेर आइतबारको मन्त्रिपरिषद् बैठकले १८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गरेको विषयमा राप्रपाले सरकारको जवाफ मागेको हो ।
आइतबारको मन्त्रिपरिषद् बैठकले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट परियोजनाका लागि कुल ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो ।
एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका थिए । यस्तै, बैठकले दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको थियो । दुई फरक परियोजनाका लागि १८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने सरकारको निर्णय रहेको थियो ।
उक्त ऋण के आधारमा लिनुपरेको हो ? भन्दै ओलीले प्रश्न गरेकी थिइन् । कुन संसदीय समितिमा छलफल वा अन्य आवश्यकतामा लोन लिएको भन्दै ओलीले प्रश्न गरिन् ।
उनले ऋणको आवश्यकता किन पर्यो, सरकारले यसको जवाफ सदनबाटै दिनुपर्ने धारणा राखिन् । साथै, उनले बजेट माग्न जाने सांसदको समस्या समाधान गर्न डिजिटल पोर्टल बनाइदिन पनि अनुरोध गरिन् ।
विशेष समयमा बोल्दै उनले मध्यपूर्वको द्वन्द्वले नेपालमा समेत भान्सामा असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । साथै उनले पेट्रोलियम पदार्थमा सरकारले जनतालाई सहुलियत दिनुपर्ने माग समेत गरिन् ।
नेकपाको अनुरोध — देश चलाउने नाममा स्टन्ट नहोस्
बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसदले भने पछिल्लो समय बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । कसैको नाम नलिई सांकेतिक रूपमा गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि नेकपाको प्रश्न थियो । विशेष समयमा बोल्दै नेकपा सांसद युवराज दुलालले स्टन्ट र ट्रायल गरेर देश नबन्ने धारणा राखे ।
दुलालले सरकार एक्सनमा जानु सकारात्मक भए पनि स्टन्ट गरेर समय बर्बाद नगर्न सुझाव दिए । दुलालले बालेन नेतृत्वको मन्त्रिपरिषदसँग राज्यको समय ट्रायल गरेर बर्बाद नगर्न माग समेत गरे । साथै, उनले सदनलाई बहुमतको आधार देखाएर अल्पमतलाई पेल्ने ठाउँ नबनाउन समेत अनुरोध गरे ।
ओली र लेखक रिहाइ गर्न एमालेको माग
बैठकको विशेष समयमा नेकपा एमालेले भने पूर्वप्रधानमन्त्री तथा आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गरेको छ । सांसद विष्णुमाया बिकले बैठकमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई विनासर्त रिहा गर्न माग गरिन् ।
उनीहरूबाट भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन् । ‘हाम्रा अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकलाई गिरफ्तार गरिएको छ । उहाँहरू भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना छैन । सरकारमा पनि हुनुहुन्न । ठूलो दुर्घटना भएको छ देशमा । उहाँहरूलाई विनासर्त रिहा गरियोस्,’ उनले भनिन् ।
यस्तै, उनले राजनीतिक तथा सामाजिक मुद्दा र निर्णय समेत सामाजिक सञ्जालको प्रभावमा पर्न थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरिन् । कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कसलाई कुन पार्टीको अध्यक्ष बनाउने भन्ने कुरा सामाजिक सञ्जालले निर्धारण गरिरहेको उनको भनाइ थियो ।
एमालेकै सांसद ऐन महरले पनि ओलीलाई तत्काल रिहा गर्न माग गरे ।
गठन गरियो प्रतिनिधिसभा नियमावली मस्यौदा समिति
सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेका छन् । बैठकमा उनले सांसदहरूलाई मनोनीत गरेका हुन्, जसमा अच्युतम लामिछाने, अप्सना बानु, आरएन राई, केपी खनाल रहेका छन् ।
यस्तै, कामिनी चौधरी, क्रान्ति शिखा धिताल, खुश्बु ओली, गणेश सिंह ठगुन्ना, गुरु बराल, गंगालक्ष्मी अवाले रहेका छन् । यसबाहेक तपेश्वर यादव, देवराज पाठक, नरेन्द्र केरुङ, प्रकाश चन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, राम लामा, विपिन कुमार आचार्य रहेका छन् ।
यस्तै, सोमबारकै बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । रास्वपा सांसद गणेश पराजुलीको सभापतित्वमा उक्त समिति गठन भएको हो ।
आजको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीले समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सीता थपलिया, गणेशसिंह ठगुन्ना, युवराज दुलाल, ध्रुवराज राई, भरत गिरी, पुष्पाकुमारी चौधरीले समर्थन गरेका थिए । उक्त प्रस्ताव र समर्थनलाई आजको सभाले सर्वसम्मतले पास गरेको छ ।
पराजुली नेतृत्वमा रहेको समितिका सदस्यहरूमा डा. ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजेला समिम निगरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा यादव र सुलभ खरेल रहेका छन् । यो समितिले १४ दिनको समयावधि पाएको छ ।