उपमहासचिव ज्ञवालीको सुझाव- ‘महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गरौँ’

उपमहासचिव ज्ञवालीको सुझाव- ‘महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गरौँ’

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न ११ औँ महाधिवेशनमा नीतिगत बहस गर्नु सान्दर्भिक नहुने बताएका छन्। नीति र नेतृत्व एकै मञ्चमा छलफल गर्दा नीतिगत बहस ओझेलमा पर्ने विगतका अनुभवका कारण पार्टीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग–अलग आयोजना गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ।

‘विधान महाधिवेशन नेतृत्‍वका विषयमा बहस गर्ने समय होइन, र नेतृत्व चयन गर्ने महाधिवेशन नीतिगत बहसका लागि उपयुक्त हुँदैन,’ उनले स्पष्ट पारे। उनका अनुसार दुई महाधिवेशनबीच राष्ट्रिय राजनीतिमा आवश्यक परेमा नीति परिवर्तन गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै दिइएको हुन्छ।

ज्ञवालीले सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक साबित भएको उदाहरणसमेत दिए। ‘तर हामीले त्यो परिवर्तन महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीको निर्णयबाट गरेका थियौँ, जुन सही र सान्दर्भिक थियो,’ उनले भने।

उपमहासचिव ज्ञवालीका अनुसार अहिले मनोवैज्ञानिक दूरी, आवेग र पक्षधरताले पार्टीभित्र वस्तुनिष्ठ समीक्षा सम्भव छैन। यस्तो अवस्थामा हुने छलफल ‘ब्लेम गेम’ मा रूपान्तरित हुने उनको चेतावनी छ। उनले स्वयंसेवक संस्थाबारे समेत विभिन्न धारणा आउन थालेको उल्लेख गर्दै अहिले समग्र विषयमा गहिरो विश्लेषण गर्न उपयुक्त समय नभएको बताए।

त्यसैले आसन्न महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित गर्नुपर्ने उनको निष्कर्ष छ। ‘सहमतिको लागि हर सम्भव प्रयास गरौँ, नभए स्वस्थ र मर्यादित प्रतिस्पर्धा मार्फत पार्टी एकतालाई सुदृढ बनाऔँ,’ उनले भने।

ज्ञवालीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी एनपीएलका खेलाडीहरू जस्तै ‘स्पोर्टम्यानसिप’ सबैले अवलम्बन गर्नुपर्ने टिप्पणी गरेका छन्।