काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्ने आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालको बयान लिने प्रक्रिया सुरु गरेको छ। आयोगको पत्राचारपछि मंगलबार अर्याल सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बयान दिएका हुन्।
यसअघि आयोगले सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआईजीहरूसँग बयान लिइसकेको थियो। सशस्त्र प्रहरी प्रमुख अर्यालको बयानपछि अब भोलि वा पर्सि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई आयोगले बोलाउने तयारी भइरहेको छ। भदौ २३ मा जेनजी आन्दोलनको पहिलो दिन ठूलो मानवीय क्षति भएपछि कार्कीलाई २४ गतेदेखि उपत्यकाको नेतृत्वमा खटाइएको थियो।
आयोगले दुवै सुरक्षा निकायका फिल्ड कमान्डरहरूसँग पहिल्यै बयान लिइसकेको छ। आईजीपी कार्कीको बयानपछि गृहसचिवलाई बितरणका लागि बोलाइने र त्यसपछि पूर्व गृहमन्त्री रमेश लेखक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम चरणमा उपस्थित गराउने तयारी आयोगका प्रवक्ता विजयराज शर्माले बताए।
तर पूर्वप्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने भनेर सार्वजनिकरूपमै बताएका छन्। आयोगले ओली, लेखक लगायतलाई छानबिनका कारण उपत्यका बाहिर जान वा विदेश यात्रामा पनि अस्थायी प्रतिबन्ध लगाएको छ।