‘एक व्यक्ति दुई पटक मात्रै अध्यक्ष’ व्यवस्था कानुनमै गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

‘एक व्यक्ति दुई पटक मात्रै अध्यक्ष’ व्यवस्था कानुनमै गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेतृत्वमा एक व्यक्ति दुईपटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमै सुनिश्चित गर्नुपर्ने बताएका छन्। पार्टीको ११औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि तयारी गरिरहेको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन्।

सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले भने, “एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा हुनुपर्छ। नयाँ पार्टीमा पनि त्यही समस्या देखिन्छ।”

उनका अनुसार जबज (जनताको बहुदलीय जनवाद) को सही र एकरूप व्याख्या सुनिश्चित गर्न दुई कार्यकाल र ७० वर्ष उमेर सीमा राखे पनि व्यवहारमा लागू हुन नसकेको छ। “स्वयं अध्यक्ष ओली पनि जबज भनिरहनुहुन्छ तर दुई कार्यकाल र ७० वर्ष उमेर सीमाको सिद्धान्त कार्यान्वयन भएको छैन,” पाण्डेले भने।

पाण्डेले लोकतान्त्रिक अभ्यास बोकेको एमालेलाई अध्यक्ष ओलीले व्यक्तिवादी चरित्रतर्फ धकेलेको आरोप लगाए। उनले भने, “यो लोकतान्त्रिक इतिहास बोकेको पार्टी व्यक्तिवादी बन्दै गएको छ। केही व्यक्तिको निर्णयबाट चल्ने स्थिति बनेको छ। यसले एमाले जनतामाझ साँघुरिने, खुम्चिने र आइसोलेशनमा जाने संकेत देखिन्छ।”

उनका अनुसार नयाँ पुस्ताले पनि महाधिवेशनमा ‘लिस्ट बाँड्ने पार्टीमा किन आउने?’ भनेर प्रश्न गर्न थालेको छ, जसले पार्टीभित्र असन्तोष बढेको देखिन्छ।