काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा विभिन्न क्षेत्रका उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बन्दै गएको छ। मंगलबार अपराह्नसम्म कांग्रेसका शीर्ष नेतादेखि प्रभावशाली नेतासम्म सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी भएका थिए।
त्यस्तै, महामन्त्री गगन थापा धनकुटा र रोल्पा दुवै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका छन्। अघिल्लो निर्वाचनमा उनी काठमाडौं–४ बाट निर्वाचित भएका थिए।
अर्का महामन्त्री विश्वप्रकाश शर्मा पुनः झापा–१ बाट एकल सिफारिस भएका छन्। उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए।
नेता डा. शेखर कोइराला मोरङ–६ बाट सर्वसम्मत रूपमा सिफारिस भएका छन्। उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
पूर्व परराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य आरजु राणा देउवा कैलाली–५ बाट उम्मेदवार सिफारिस भएकी छन्। उनीसँगै नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृप वडको नाम पनि सिफारिस गरिएको छ।
त्यसैगरी, पूर्वमन्त्री महेश आचार्य मोरङ–४ बाट उम्मेदवारमा सिफारिस भएका छन्। उनीसँगै दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतको नाम पनि पठाइएको छ।
पूर्वमन्त्री मीनेन्द्र रिजाल मोरङ–२ बाट सिफारिस भएका छन्। शिवनारायण सिंह र नारायणी पण्डितको नाम पनि सोही क्षेत्रबाट सिफारिस गरिएको छ।
सिन्धुपाल्चोक–१ बाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको नाम पुनः सिफारिस गरिएको छ।
भक्तपुर–४ बाट नेता रमेश रिजाल सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि बैतडीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
यसैगरी, सुर्खेत–२ बाट पूर्वमन्त्री हृदयराम थामीसहित उपेन्द्र थापा, कमल खत्री, नारायण कोइराला, भिष्मराज हमाल र वसन्ती बस्नेतको नाम सिफारिस गरिएको छ।
उम्मेदवार सिफारिस प्रक्रिया क्षेत्रीय समितिबाट सुरु भएर जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुग्नेछ। केन्द्रले अन्तिम रूपमा उम्मेदवार घोषणा गर्नेछ।