काठमाडाैं : विराटनगर किंग्सलाई ७७ रनको भारी अन्तरले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को लगातार दोस्रो फाइनलमा प्रवेश गर्न सफल भएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमले विराटनगरसँग लिग चरणमा व्यहोरेको पराजयको बदला समेत चुकायो। लिगमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै क्वालिफायर–१ मा स्थान सुरक्षित गरेको थियो।
पहिलो प्रयासमै फाइनल टिकट गुमाएको विराटनगर अब दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने प्रयास गर्नेछ। दोस्रो क्वालिफायरमा उसले बुधबार हुने इलिमिनेटर विजेतासँग भिड्नुपर्नेछ, जहाँ काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो। यो स्कोर एनपीएल इतिहासकै तेस्रो कम स्कोर पनि बन्यो।
विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रन बनाए पनि अरू ब्याटरले साथ दिन नसक्दा टोली भारी पराजय बेहोर्न बाध्य भयो। मार्सेन्ट डे लाङ्गेले १५ र बसिर अहमदले १२ रन बनाए।
इन्निङको दोस्रो ओभरमै विराटनगर तीन रनमै तीन विकेट गुमाउँदै दबाबमा परेको थियो। पावरप्लेमै तीन विकेट गुमाएर ३४ रन मात्र जोड्न सकेको थियो।
सुदूरपश्चिमका बलर—हरमित सिंह, अविनास बोहरा र स्कट कुग्लेजिनले समान दुई–दुई विकेट लिए भने हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट जुटाए।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेट गुमाएर १५५ रन बनाएको थियो। ओपनर विनोद भण्डारीले शानदार ६३ रन प्रहार गर्दै इनिङ सम्हाले। उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।
त्यसपछि सेल्डन ज्याक्सनले ११ बलमा २० रन, हरमित सिंहले १४ रन, इशान पाण्डेले १३ रन र आरिफ शेखले २० रन जोडे। कप्तान ऐरी ३ रनमा रनआउट भए।
विराटनगरका लागि मार्सेन्ट डे लाङ्गे र प्रतिश जिसीले दुई–दुई विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले एक–एक विकेट ब्याग गरे। कप्तान सन्दीप लामिछानेले भने विकेटविहीन रहँदै १६ रन मात्र खर्चिए।
यस जितसँगै सुदूरपश्चिम रोयल्स पुनः एकपटक उपाधि नजिक पुगेको छ र अब लगातार दोस्रो वर्ष एनपीएल ट्रफीको दावेदार बनेको छ।