एमाले महाधिवेशन अपडेट: मंसिर २५ भित्र कार्ड, सहभागी संख्या २ हजार ६ सय १३

एमाले महाधिवेशन अपडेट: मंसिर २५ भित्र कार्ड, सहभागी संख्या २ हजार ६ सय १३

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली प्रतिनिधि विवरण अपडेट गर्ने कार्यमा निरन्तर रूपमा जुटिरहेको विभागले जनाएको छ।

विभाग प्रमुख अधिकारीका अनुसार महाधिवेशनका लागि २ हजार १ सय ५४ जना प्रतिनिधि निर्वाचनमार्फत आउनेछन्। साथै १ सय ८ जना प्रतिनिधि केन्द्रबाट मनोनयन हुने भएकाले मनोनीतसहित कुल प्रतिनिधिको संख्या २ हजार २ सय ६२ पुग्नेछ।

तत्कालीन नेकपा (एस)को ‘घरफर्क अभियान’बाट आएका तीन जनाले समेत प्रतिनिधि बन्न माग गर्दै निवेदन दिएका छन्। उनीहरूको विषयमा निर्णय गर्ने अधिकार पार्टी सचिवालयलाई रहने विभागले बताएको छ।

अधिकारीका अनुसार धनकुटा र ओखलढुंगामा प्रतिनिधि छनौटसम्बन्धी देखिएका समस्या समाधान भइसकेका छन्। ती जिल्लाहरूमा पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१३ अनुसार प्रक्रिया नचलिएकाले केन्द्रले पुनः मापदण्डअनुसार छनौट गर्न निर्देशन दिएको थियो। निर्देशअनुसार अब दुवै जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन्। अन्य तीन जिल्लामा परेको उजुरीको पनि छानबिन भइरहेको अधिकारीले जानकारी दिए।

निर्वाचित प्रतिनिधिमध्ये कतिपयको मापदण्ड पूरा नभएको भन्दै आएको गुनासा र उजुरीका आधारमा छानबिन भइरहेको र मापदण्ड नपुग्ने कुनै पनि व्यक्तिलाई प्रतिनिधि कार्ड नबनाइने संगठन विभागले स्पष्ट पारेको छ। “हामीले करिब ७० प्रतिशत प्रतिनिधिको भेरिफिकेसन सकिसक्यौँ,” अधिकारीले भने।

महाधिवेशनको बन्द सत्रमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सल्लाहकार परिषद् सदस्य सहभागी हुनेछन्। सल्लाहकार परिषद्का ३ सय ७६ सदस्यमध्ये २५ जना प्रतिनिधि निर्वाचित भएकाले बाँकी सदस्यहरू सहभागीको रूपमा महाधिवेशनमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो। प्रतिनिधि तथा सहभागी गरी महाधिवेशनमा कुल २ हजार ६ सय १३ जना उपस्थित हुनेछन्।

यसैबीच, प्रतिनिधिहरूका परिचयपत्र छपाइको काम पनि तीव्र रूपमा चलिरहेको केन्द्रीय कार्यालयले जनाएको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाइ भइसकेको र आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि कार्ड छपाइ पूरा हुने कार्यालयले जनाएको छ।