काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भइरहेको टसमा विजय हासिल गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेपछि सुदूरपश्चिमले पहिलो ब्याटिङ गर्नेछ।
लिग चरणमा अपराजित यात्रामा रहेको सुदूरपश्चिमलाई यही विराटनगरले पहिलो पराजय चखाएको थियो। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेट गुमाएर भेट्टाएको थियो, जसले आजको खेलमा सुदूरपश्चिमलाई फेरि त्यही आक्रमक ब्याटिङ प्रदर्शनको चिन्ता बढाइरहेको छ।
लिग चरणमा सुदूरपश्चिम १२ अंकसहित शिर्ष स्थानमा र विराटनगर १० अंकसहित दोस्रो स्थानमा रहेका थिए।
दिउँसो ४ बजे सुरु हुने यो खेल अत्यन्त महत्वपूर्ण छ। आजको क्वालिफायर–१ जित्ने टोली सोझै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोलीले बुधबार हुने इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा भिड्नुपर्नेछ।
इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स एक–अर्कासँग प्रतिस्पर्धा गर्ने छन्।