काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा सक्रिय राजतन्त्रको सम्भावना अब समाप्त भइसकेको स्पष्ट गरेका छन्। राप्रपाले मंगलबार राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा संवैधानिक राजसंस्थामात्र उपयुक्त र सम्भव विकल्प भएको बताए।
‘धेरै साथीहरू सक्रिय राजतन्त्र चाहन्छन्, तर हामी सहमत छैनौँ,’ जबराले भने, ‘अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ। यो विषय राजासँग नै सोधेर मैले स्पष्ट पारेको छु।’
पूर्व राजा ज्ञानेन्द्रसँग संवैधानिक राजसंस्था सम्बन्धमा आफूले प्रत्यक्ष कुराकानी गरेको उल्लेख गर्दै उनले अब देश चलाउने मूल जिम्मेवारी नेपालीका छोराछोरीमै रहने र राजसंस्थाले अभिभावकको भूमिका मात्र निर्वाह गर्नुपर्ने धारणा राखे।
‘देश नेपालीका छोराछोरीले नै चलाउने हो। राजसंस्थाले अभिभावकको भूमिका निभाउनुपर्छ,’ उनले जोड दिए।