काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले औपचारिक भेटवार्ता सुरु गरेका छन्। भेटवार्तामा प्रसाईंले आफ्नो समूहले प्रस्तुत गरेका २७ बुँदे मागका मुख्य विषयहरूमा विस्तृत छलफल गर्दै छन्।
वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन्। प्रसाईंको टोलीबाट १९ जना प्रतिनिधि वार्तामा सहभागी छन्। स्रोतका अनुसार, यो भेटवार्ता राजनीतिक तनावपूर्ण परिस्थितिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि मंसिर २२ गते समय तोकिएको थियो। भेटमा प्रसाईंले गत मंसिर ६ देखि राख्दै आएका मागहरूको कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
वार्तामा विशेष रूपमा वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता र धार्मिक स्वतन्त्रता जस्ता संवेदनशील विषयमा ध्यान दिइएको छ। प्रसाईंको समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना गर्ने, विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने, सार्वजनिक शान्तिमा खलल पुर्याउने तत्व नियन्त्रण गर्ने र नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने जस्ता बुँदाहरू समावेश छन्।
गत मंसिर ६ गते यी मागहरू गृहमन्त्री अर्याललाई बुझाइएको थियो। सरकारले राजनीतिक दलमार्फत मात्र यस्ता माग सम्बोधन गर्न सकिने सुझाए पनि प्रसाईंको समूहले तत्काल कार्यान्वयन नभए चरणबद्ध आन्दोलन सशक्त पार्ने चेतावनी दिएको छ।