काठमाडौं । लगातार छैटौँ कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। सोमबार पनि नेप्से परिसूचक ३.०२ अंकले घट्दै २६०६ मा झरेको छ। गत साता चार दिन र यस साता दुई दिन गरी कुल छ दिन बजार ओरालो लागेसँगै नेप्सेले यो अवधिमा जम्मा १७० अंक गुमाएको छ। मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो।
बैंक तथा वित्तीय क्षेत्रमा केही नीतिगत सहजता भए पनि राजनीतिक अस्थिरता, निर्वाचन प्रक्रियाबारे अनिश्चितता र लगानीकर्तामा कमी आएको विश्वस्तताका कारण बजारमा सुधार आउन सकेको विश्लेषकहरू बताउँछन्।
आज ९९ कम्पनीका शेयर मूल्य बढेका छन् भने १४७ कम्पनीका घटे र १२ कम्पनी स्थिर रहे। दिनभर बजार हल्का उतारचढावमै सीमित रह्यो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजार सोमबार ४ अर्ब ६६ करोडमा सीमित रह्यो।
समूहगत सूचकमा मिश्रित अवस्था देखियो। जलविद्युत् (०.१२%), जीवन बीमा (०.५०%), उत्पादन तथा प्रशोधन (०.६१%), निर्जीवन बीमा (०.०५%) र व्यापार (०.४१%) समूह बढे।
बैंकिङ (०.६७%), विकास बैंक (०.११%), फाइनान्स (०.५७%), होटल तथा पर्यटन (०.२३%), लगानी (०.१६%), माइक्रोफाइनान्स (०.२९%) र अन्य (०.२१%) समूह भने घटे।
चार कम्पनीको मूल्य १० प्रतिशतले उछालियो—अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक।
इङ्वा हाइड्रोपावर ९.०३ प्रतिशतले बढ्दा पियोर इनर्जी ४.४ प्रतिशतले उक्लियो।
घट्ने समूहमा सपोर्ट माइक्रोफाइनान्स सबैभन्दा बढी ५.१६ प्रतिशतले घट्यो। मेन्छियाम हाइड्रोपावर ३.७३, गुहेश्वरी मर्चेन्ट बैंक ३.६८ प्रतिशतले तल झरे।
आज धेरै कारोबार भएका शीर्ष पाँच कम्पनी—
• ङादी ग्रुप
• सागर डिस्टिलरी
• पियोर इनर्जी
• राधि विद्युत्
• झापा इनर्जी
विश्लेषकका अनुसार बजारको मनोविज्ञान अहिले राजनीति र निर्वाचन प्रक्रियाले बढी प्रभावित गरिरहेको छ, जसले आगामी केही दिन बजारको दिशा निर्धारित गर्ने सम्भावना छ।


