काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनका सहिदहरूको नामावली देशभरका जिल्ला प्रशासन कार्यालय (सीडीओ) को कार्यकक्षमा अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। मन्त्रालयले सोमबार सबै ७७ जिल्लाका प्रजिअलाई परिपत्र जारी गर्दै तीन दिनभित्र ‘जेनजी सुशासन योद्धाहरू’ को सूची कार्यकक्षमा टाँस्न आदेश दिएको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरिसकेको छ। सहिद घोषणा गरिएका ती व्यक्तिहरूको नामावली तोकिएको मापदण्डअनुसार प्रजिअको कार्यकक्षमा प्रष्ट रूपमा राख्न गृहले निर्देशन दिएको हो।
परिपत्रसँगै मन्त्रालयले ४५ सहिदको आधिकारिक नामावली पनि जिल्ला प्रशासन कार्यालयहरूलाई पठाएको छ। सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन, क्षतिपूर्ति प्रक्रिया र सहिद परिवारका हितका लागि गरिँदै आएका निर्णयहरूको कार्यान्वयनलाई व्यवस्थित बनाउन यस कदमलाई आवश्यक ठानेको बताइएको छ।