भैरहवा र सिमरा सेजमा ८२ वटा उद्योगले ८ अर्ब १८ करोड बराबरको लगानी प्रस्ताव


काठमाडौं :  भैरहवा र सिमरा सेजमा ८२ वटा उद्योगले ८ अर्ब १८ करोड बराबरको लगानी प्रस्ताव गरेका छन् । सरकारले सबै पूर्वाधार निर्माण गरेर उद्योग लगाउन गरेको प्रस्तावमा भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न लगानीकर्ताहरुले चासो देखाएका हुन् ।

कुल ११३ औद्योगिक प्लटमा उद्योग स्थापनाका लागि आह्वान गर्दा वार्षिक १० अर्बको वस्तु उत्पादन गर्ने ८२ उद्योगीले उद्योग स्थापना गर्न आवेदन दिएको सेज प्राधिरकणले जनाएको छ । भैरहवा सेजमा औद्योगिक प्लट पाउनका लागि उद्योगीहरुले तँछाड मछाड गरेको र सिमरामा पनि धेरै उद्योगीहरु प्लट लिन आएको सेजका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले बताए । भैरहवामा ४५ वटा मात्रै प्लट रहेकामा ५५ वटाको माग भएको उनले बताए । कुल ११३ प्लटमा उद्योग लगाउन प्राधिकरणले गरेको आह्वानमा ८२ प्लटमा उद्याोगीको ओवदन आएको छ,’ कार्यकारी निर्देशक भट्टले भने, ‘ती उद्योगहरुको वार्षिक उत्पादन क्षमता १० अर्बको छ, जसमा ६ अर्बको वस्तु निर्यात हुने उद्योगीहरुको दाबी छ ।’

भैरहवा सेजमा ४५ प्लटमा उद्योग स्थापना लागि गरिएको आह्वानमा बढी आवेदन परेको छ भने सिमरामा ६८ मध्ये २७ प्लटका लागि लगानीकर्ताले आवेदन गरेको भट्टले बताए । भैरहवामा ४५ प्लटमा ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ भने सिमरामा एक खर्ब ३७ करोड लगानीका लागि उद्योगीले प्रस्ताव गरेको सेज प्राधिकरणको भनाइ छ । सेजमा उद्योग स्थापना गर्न पूर्वाधार प्रयोगमा लाग्ने भाडा घटाए पछि उद्योगीहरुलाई प्रोत्साहन मिलेको सेज प्राधिकरणको दाबी छ । विशेष आर्थिक क्षेत्र ऐनअनुसार गत फागुन १५ गते प्राधिकरणले सेजमा उद्योग स्थापनाको आवेदन दिन लगानीकर्तालाई आह्वान गरेको थियो । सडक, बिजुली, पानी, ढल सुरक्षा, इन्धन, बैंक र बीमा लगायतका सबै सुविधा उद्योगलाई एउटै छाताबाट दिने र त्यस्ता उद्योगले कुल उत्पादनको ६० प्रतिशत निर्यात गर्नै पर्ने शर्त छ ।

इन्डक्सन चुल्होदेखि मेडिकल सामग्री उत्पादन गर्ने उद्योग

सेजमा उद्योग स्थापना गर्न आवेदन दिएका उद्योगहरु धेरै जसो होमअप्लयान्स निर्माता रहेको सेजका कार्यकारी भट्ट बताउँछन् । त्यसबाहेक सेजमा आउन लागेका उद्योगहरुले इन्डक्सन चुल्होदेखि मेडिकल सामग्री उत्पादन गर्ने आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् । प्रेसर कुकरदेखि सबै खाले घरायसी प्रयोगका भाँडा बर्तन, आल्मोनियम कन्टेनर, प्लाष्टिक प्रोसेसिङ, लेदरका वस्तु उत्पादन र मेटलका वस्तु, सिसाको ग्लास, सिमेन्ट बोर्ड र मेडिकल उपकरण निर्माण गर्ने उद्योगहरुले सेजमा उद्योग लगाउन चाहेका छन् । सेजमा आउन चाहेका उद्योगरुहरु सबै स्वदेशी लगानीको भएको पनि कार्यकारी निर्देशक भट्टले बताए ।


प्रकाशित मिति : २०७८ चैत्र ८, मंगलवार

धेरै पढिएको

ताजा समाचार