बेँसीसहर-चामे सडक खण्ड थप १० दिन बन्द


काठमाडौं : लमजुङ र मनाङ जोड्ने डुम्रे‍-बेँसीसहर–चामे सडकखण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ ।

कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ । मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर-चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ । सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासोँ गाउँपालिका-९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो ।

पछि पुनः काठेपुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो ।


प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार

धेरै पढिएको

ताजा समाचार