हुम्लामा संचालीत यातायात साधनमा नयाँ भाडादर कायम


 


हुम्ला,१८ फागुन ।
हुम्ला जिल्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ । हुम्लामा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायिक संस्थालगायतकाको उपस्थतिमा बसेको बैठकले सडक सञ्जालसँग नजोडिएको हुम्लामा बाटो इजाजत पत्र बिना गाडी सञ्चालन भइरहेको र मनपरी भाडा असुल्ने कार्य भएको भन्दै सो निर्णय गरेको हो ।
यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतको परिपत्र अनुसार सो व्यवस्था गरिएको हो ।

जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरुपता बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लामा उक्त परिपत्र आएको थियो । हुम्लामा कतिपय गाडी अनुमतिविना सञ्चालन भएका, कालो प्लेटसमेत नभएका र रातो प्लेटमा काम चलाउँदै आएका छन् ।

सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ ।


प्रकाशित मिति : २०७८ फाल्गुन १८, बुधबार

धेरै पढिएको

ताजा समाचार