सल्यानका मेयर विरुद्ध उच्च अदालत सुर्खेतको आदेश


 माघ २७, सल्यान । सल्यानका मेयर विरुद्ध उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुन विरुद्ध उच्च अदालत सुर्खेतले बिहीबार आदेश जारी गरेको हो ।

आफ्नो क्षेत्राअधिकार खोसेको भन्दै वडा नम्बर १ का वडाध्यक्ष शान्त कुमार यरीले उच्च अदालत सुर्खेतमा रिट दिएपछि अदालतले मेयर विरुद्ध फैसला गरेको हो । वडाध्यक्षलाई अख्तियार लागेको भन्दै मेयर पुनले गत पुस १९ गते वडाध्यक्षले कुनै काम नगर्नु भनेर नगरपालिकाबाट पत्र काटेका थिए ।

मेयरले ऐन कानुनभन्दा बाहिर गएर आफुलाई कारबाही गरेको भन्दै वडाध्यक्ष यरीले उच्च अदालत सुर्खेतमा निवेदन दिएका थिए । सो निवेदको फैसला गर्दै बिहीबार न्यायधीश राजेश्वर तिवारी र चन्द्रबहादुर सारुको संयुत्त इजलासले मेयर पुनले प्रचलित कानुनले नदिएको अधिकार प्रयोग गरेर वडाध्यक्षलाई कुनै पनि हस्ताक्षरित कागजी काम गर्न रोकेको ठहर गरेको छ ।

मेयरले वडाध्यक्षलाई कारबाही गरेको पत्रको कार्यान्वयन नगराउन अदालतले मेयर पुन र बनगाड नगरपालिकाको कार्यालयको नाममा अन्तरिम आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्धाको अन्तिम टुंगो नलागेसम्म बनगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शान्त कुमार यरीलाई कामकाजबाट बञ्चित नगर्न नगराउन नगरप्रमुख गोविन्द कुमार पुन र नगरपालिकाको नाममा उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरिएको छ ।


प्रकाशित मिति : २०७८ माघ २७, बिहीबार

धेरै पढिएको

ताजा समाचार