मरिससविरुद्ध नेपालको जित, ३ खेलाडीको पुनरागमन


काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले शनिवार मरिसलाई पराजित गर्दै पहिलो पटक अफ्रिकन राष्ट्रसँग आधिकारिक रुपमा मैत्रीपूर्ण खेल खेल्यो ।

फरवार्ड विमल घर्तीमगरले दुई वर्षभन्दा बढी समयपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरेपछि नेपालले मरिससलाई पहिलो मैत्रीपूर्ण खेलमा १–० ले हरायो। कोभिड–१९ महामारीको समयमा एक तिहाइ दर्शकसहितको उपस्थितिमा खेल्दा राष्ट्रिय टिमले घरेलु मैदानमा जितसहित दर्शकलाई खुशी दियो । यस्तै नेपालका मुख्य प्रशिक्षक अबदुलाल्ह अलमुताइरीले पनि नेपालको प्रशिक्षकको रुपमा घरेलु मैदानमा पहिलो जित हात पारे । शनिबारको खेलमा नेपालले जितको अन्तर बढाउन सक्थ्यो । तर दोस्रो हाफमा अन्जन विष्ट र जगजित श्रेष्ठले गोलको अवसरलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा पनि अन्जन र विमलले अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

दोस्रो हाफको सुरुमै मरिससका ज्याक्सनले गोल गर्ने राम्रो अवसर बनाए पनि पोष्ट बाधक बन्दा अग्रता लिनबाट चुकेको थियो । तर ५५औं मिनेटमा अन्जन विष्टले मध्य भाग नजिकबाट उपलब्ध गराएको पासमा अनमार्क रहेका विमलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । मरिससका कप्तान तथा गोलकिपर केभिनले रोक्ने कुनै अवसर पाएनन् ।

अर्कोतर्फ मरिससले साढे दुई वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेद पनि नेपालले घरेलु मैदानमै चुनौती दिएको थियो । मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले ४५ दिनको तयारीमा नेपालमा खेल्न आएको र आफ्नो टिमले राम्रै खेलेको बताए ।

नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेल जितेको एक दशकपछि यो पहिलो पटक हो । नेपालले सन् २०११ मा भुटानलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको थियो । त्यसपछि देश भित्र र देश बाहिर गरी २३ मैत्रीपूर्ण खेलमा नेपालले जित हात पार्न सकेको थिएन । मरिससलाई हराएपछि नेपालले मैत्रीपूर्ण खेलमा जितविहीन यात्रालाई समाप्त गरेको छ । नेपालले पछिल्लो मैत्रीपूर्ण खेल गत मेमा इराकसँग खेलेको थियो र उक्त खेलमा नेपाल ६–२ ले पराजित भएको थियो । नेपालले मैत्रीपूर्ण खेल खेल्न थालेपछि दशरथ रंगशालामा पनि यो पहिलो मैत्रीपूर्ण जित हो । साथै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पनि प्रशिक्षकको रुपमा दशरथ रंगशालमा पहिलो खेल जितेका छन् । उनी प्रशिक्षक बनेपछि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरी गर्दा अर्को खेलमा पराजित भएको थियो ।

२३ वर्षीय विमल घर्ती मगरले दुई वर्षपछि राष्ट्रिय फुटबल टिममा पुनरागमन गर्दै गोल गरे । पछिल्लो पटक सन् २०१९ नोभेम्बरमा म्यानमारसँग मन्डालामा मैत्रीपूर्ण खेल खेलेका विमलले २६ महिनापछि राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका हुन् । जसमा उनले गोल नै गरे । प्रतिवन्ध र घुँडाको चोटका कारण विमल दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए । मुख्य प्रशिक्षक अलमुताइरीले विमललाई यसपटक टिममा राख्दा पहिलो रोजाइमा अवसर दिए । घरेलु दर्शकलाई विमलले पनि निराश पारेनन् । मरिसस विरुद्धको गोल राष्ट्रिय टिमका लागि विमलको नवौं गोल हो । उनी नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको १३ गोलभन्दा मात्र ४ गोलले पछि छन् । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए ।

मरिसस विरुद्धको खेलमा विमलसँगै ३ खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गरे । विमलसँगै डिफेण्डर देवेन्द्र तामाङले दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा मिडफिल्डर जगजित श्रेष्ठले झण्डै ७ वर्षपछि राष्ट्रिय टिमबाट खेले । विमल र देवेन्द्रले पहिलो रोजाइमै खेलेका थिए भने जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । विमलले ७४ मिनेट मैदानमा बिताए । देवेन्द्रले पूरै समय मैदानमा बिताए । जगजित भने ६१औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए । विमलले सन् २०१९ नोभेम्बरपछि नेपालका लागि पहिलो पटक खेलेका हुन् । यस्तै देवेन्द्रले सन् २०१९ नोभेम्बरमै भुटानको थिम्पुमा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध खेलेपछि नेपालका लागि पहिलो खेल खेलेका हुन् । उनी खुट्टाको चोटका कारण राष्ट्रिय टिमबाट दुई वर्ष मैदान बाहिर थिए । यस्तै जगजितले सन् २०१५ पछि पहिलो पटक नेपालको लागि खेलेका हुन् । उनले सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिपमा पछिल्लो पटक भारतविरुद्ध नेपालका लागि खेलेका थिए ।

३ खेलाडीले पुनरागमन गर्दा २ खेलाडीले मरिससविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरे । सातदोबाटो युथ क्लबबाट घरेलु फुटबल खेल्ने मिडफिल्डरद्वय सुदिप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टिममा पहिलो पटक खेलेका हुन् । सुदिप ८५ औं मिनेटमा सुरज ज्यु ठकुरीको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै उमेर समूहको राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका आकाशले इन्जुरी टाइममा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । सुदिप र आकाश पहिलो पटक बन्द प्रशिक्षणमा पर्दै राष्ट्रिय टिममा परेका हुन् । पहिलो अवसरमै मुख्य प्रशिक्षक अलमुताइरीले दुई खेलाडीलाई अवसर दिए । पहिलो पटक राष्ट्रिय टिममा परेका सातदोबाटोकै प्रशान्त अवस्थी र गोलकिपर टिकेन्द्र थापाले भने डेब्युको अवसर पाएनन् । यस्तै टिममा रहेका अर्का गोलकिपर दीप कार्कीले पनि डेब्यु गर्न बाँकी छ । प्रशिक्षक अलमुताइरीले मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीमा ४ नयाँ खेलाडी समावेश गरेका थिए । अब मंगलबार हुने दोस्रो मैत्रीपूर्ण खेलमा ५ नयाँ खेलाडीसहित ११ फरक खेलाडी हुनेछन् । पहिलो खेलका लागि टिममा रहेका १२ खेलाडी मात्र दोस्रो खेलका लागि पनि टिममा रहनेछन् ।

अहिले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको असर बढ्दो छ । यस्तो अवस्थामा सरकार र स्थानीय प्रशासनले धेरै भिडभाड नगर्न आग्रह गरिरहेका छन् । तर शनिवारको खेलमा दशरथ रंगशालाको कूल क्षमताको एक तिहाइ अर्थात ५ हजार दर्शकका लागि प्रवेश अनुमति थियो । सरकारको स्वास्थ्य प्रोटोकल र स्थानीय प्रशासनको निर्णय अनुसार एक तिहाइ दर्शकलाई रंगशालामा प्रवेश अनुमति थियो । रंगशाला प्रवेश गर्नेले कोभिड–१९ को खोप लगाएको कार्ड देखाउनुपर्ने थियो । महामारीकै समयमा पनि पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा नेपाली टिमले घरेलु मैदानमा केही मात्रामा भए पनि दर्शकको साथ पायो ।

प्रशिक्षक अलमुताइरीले पनि घरेलु दर्शकको अगाडि खेल जितेपछि पोष्ट म्याच कन्फ्रेन्समा खुशी व्यक्त गरे । उनले नेपाल आफ्नो परिवार जस्तै रहेको र आफूले यहाँ जस्तो माया अन्त नपाएको समेत बताए ।


प्रकाशित मिति : २०७८ माघ १६, आईतवार

धेरै पढिएको

ताजा समाचार