कर्णालीका ६ जिल्लामा एमाले नेतृत्व चुनियो, दैलेखमा भने मतदान हुने


काठमाडौँ : कर्णाली प्रदेशका ६ जिल्लामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सुर्खेत, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला र रुकुम पश्चिममा निर्वाचन र सहमतिमा नेतृत्व चयन भएको छ ।

अधिवेशन चलिरहेको कालीकोटमा बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै । दैलेखमा भने फर्जी मत भेटिएपछि पुनः निर्वाचन गर्ने तयारी भइरहेको एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । अन्य दुई जिल्ला मुगुमा बुधबार र हुम्लामा माघ २३ गते अधिवेशन मिति तोकिएको छ ।

प्रदेश अध्यक्ष शाहको अनुसार सुर्खेतको अध्यक्षमा अमृत बिसी, सल्यानमा गोविन्दकुमार पुन, जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही, डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, जुम्लाको अध्यक्षमा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा चयन भएका छन् । यी ६ जिल्लामध्य सुर्खेत र जाजरकोटमा निर्वाचन गरिएको थियो भने अन्य चार जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।

दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि पुनः मतदान गरिने भएको छ । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको थियो ।

पुनः मतदानका लागि केन्द्रीय निर्वाचन आयोगले निर्देशन दिएपछि बिहीबार नै उपाध्यक्षबाहेकका पदमा मतदान प्रक्रिया सुरु हुने प्रदेश अध्यक्ष शाहले जानकारी दिए ।

 


प्रकाशित मिति : २०७८ पुष २९, बिहीबार

धेरै पढिएको

ताजा समाचार