सुर्खेतमा माघी विशेष कार्यक्रम सम्पन्न


काठमाडौं : माघीको अवसरमा वीरेन्द्रनगरमा लखागिन थारू उत्थान मञ्च सुर्खेत र थारू अर्गानिक सामुदायिक होमस्टे तिलपुरको आयोजनामा मंगलबार माघीको महत्वबारे प्रशिक्षणसहित साँस्कृृतिक नाचगानलगायत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई धेरै थाहा नहुँदा पर्वको महत्वबारे प्रशिक्षणसहित कार्यक्रम गरिएको लखागिन थारू उत्थान मञ्च सुर्खेतले जनाएको छ। सो अवसरमा वीरन्द्रनगर नगरपालिकाको वडा नं ९ का वडाध्यक्ष सुरेश कुमार मानन्धरले थारूहरूको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट एक ठाउँमा जम्मा भएर मनाउने कार्यले संस्कृति संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बताए । यसलाई अझ व्यापक र बृहत गर्दै जानुपर्ने धारणा राख्दै मानन्धरले संस्कृति देशको पहिचान र चिनारी भएकोले सबै जातजातिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले वडाबाट थारू संग्रहायल लगायतमा निरन्तर आर्थिक सहयोग रहेको पनि जानकारी दिए ।

लखागिन थारू उत्थान मञ्चका सल्लाहकार सनिसरा महतमले सुर्खेतका थारूहरूको भाषा संस्कृति संरक्षण सम्वद्र्धन गर्न थारू समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा थारू कल्याणकारिणी सभा, सुर्खेतका सभापति बेचुलाल चौधरी, थारू वुद्धिजीवि लालबहादुर चौधरी, जंगलाल चौधरी, अमर चौधरी, शेरबहादुर थारू लगायतका वक्ताहरूले थारूहरूको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न कलाकार समूहको थारू नृत्य तथा गीतसमेत प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति : २०७८ पुष २८, बुधबार

धेरै पढिएको

ताजा समाचार