किर्ते कागज बनाएर अमेरिका जान लागेका चिचिला गाउँपालिका अध्यक्ष माथि कारबाहीको माग


काठमाडौं : किर्ते कागज बनाएर अमेरिका जान लागेका चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पामाथि कारबाही गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले माग गरेका छन् ।

२४ मङ्सिरमा बसेको गाउँ कार्यपालिकाको बैठकले माघ ४-५ मा अमेरिकामा हुने छैटौँ स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले बेहोर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्षले अमेरिका भ्रमणका लागि संवैधानिक आयोगका सदस्य र छोरासहित नौ जनाको खर्च बेहोर्ने गरी २४ मङ्सिरमा गाउँपालिकाबाट निर्णयको किर्ते कागज बनाएका थिए । किर्ते कागज बनाएर अमेरिका जान लागेको भन्दै दुवै दलले विज्ञप्तिमार्फत कारबाही माग गरेका हुन् । मङ्सिर २४ गते कार्यपालिकाको १०१औँ बैठकले गरेको ११ औँ नम्बरको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको नेकपा (माओवादी केन्द्र) चिचिला गाउँ कमिटीले बताएको छ ।

एमाले जिल्ला कमिटी सङ्खुवासभाले विज्ञप्ति जारी गर्दे विदेश भ्रमणको कार्यक्रम, सहभागी विनियोजित रकमका बारेका भएको नीतिगत निर्णय र आर्थिक अपचलनको विषयमा कारबाहीको माग गरेको छ । कागज किर्ते गर्न गाउँपालिका अध्यक्ष शेर्पामाथि कडा कारबाही हुनुपर्ने एमाले जिल्ला कमिटी सङ्खुवासभाले बताएको छ।

गाउँपालिकाले ९ जनाको टोली अमेरिका पठाउन ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पनि पास गरेको थियो । अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउन गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल पठाउने निर्णय गरेको थियो । दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पा गरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता (टीएडीए) बापत प्रतिव्यक्ति २२ सय ५० डलर (प्रतिदिन २ सय २५ डलर) पाउने उल्लेख छ । अञ्जु ढुंगाना थिलेन शेर्पा र नरेश रिजालले १२ सय ५०, मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले नौ सय डलर (९० डलर प्रतिदिन) का दरले टीएडीए पाउने गरी गाउँपालिकाले निर्णय गरेको थियो । गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्षसहित संवैधानिक आयोगका अमेरिका निर्णयको अहिले चौतर्फी विरोध भएको छ ।

 


प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार

धेरै पढिएको

ताजा समाचार