रुकुम पश्चिममा नातिनीद्धारा हजुरबुबा माथी खुकुरी प्रहार


काठमाडौँ : रुकुम पश्चिममा हजुरबुबाले पाएको वृद्धाभत्ता लिनलाई आफ्नै नातिनीले हजुरबुबा माथी खुकुरी प्रहार गरेकी छिन् ।
जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ निवासी १७ वर्षीया उर्मिला मल्लले मावलीतर्फका हजुरबुबा ७४ वर्षीय दाना शाही माथी बुधबार बिहान खुकुरी प्रहार गरेकी हुन् । उर्मिला दानाकी छोरीकी छोरी हुन् ।

खुकुरी प्रहारबाट घाइते भएका दानाको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चौरजहारी अस्पतालमा ल्याइएको छ । आफूसँग भएको पैसा लिने उद्देश्यले नातीनीले खुकुरी हानेको दानाले बताए । आफुले वृद्धाभत्ता बापतको १२ हजार भत्ता बुझेको र त्यही लिन आएकी नातिनीले आफुमाथि खुकुरी हानेको दानाले बताए ।

मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आक्रमण गरेको दानाले बताए । दाना लामो समयदेखि एक्लै बस्दै आएका छन् । घाँटीमै हानेको खुकुरी आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ । परिवारकाअनुसार उर्मिला सानैदेखि सुन्न र बोल्न सक्दिनन् । खुकुरी प्रहार गर्ने उर्मिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए ।


प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार

धेरै पढिएको

ताजा समाचार