१४ पुष ,चक्र दानी
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट अध् यक्षमा लगभग पुष्प कमल दाहाल ‘प्रचण्ड’ पक्का पक्की नै छन् । महासचिव भने को बन्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
सम्भवत् , माओवादी केन्द्रले महासचिव छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । महासचिवको दौडमा भने जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन र शक्तिबहादुर बस्नेत गुट बनाएरै अगाडि बढेका छन् ।विशेषगरी प्रचण्डले जनार्दन शर्मालाई बनाउलान् कि वर्षमान पुनलाई बनाउलान् भनेर विभिन्न तह र तप्काबाट चर्चा तथा विश्लेषणहरु भईरहेका छन् । दुबै नेताले पार्टी कमिटीहरु तथा भ्रातृ संगठनमा बलिया गुट बनाएका छन् । तर प्रचण्डको नजरमा विगतका घटनाक्रमहरु नियालेर हेर्ने हो भने जनार्दन शर्मा नै नजिक मानिन्छन् ।
अहिलेको पाँच दलिय गठबन्दनको सरकार गठन गर्ने बेलाकै परिवेश फर्केर हेर्ने हो भने प्रचण्डले माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भुषाललाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका थिए जुन अहिले पनि कायमै छ । यस अर्थमा पनि जनार्दन शर्मा महासचिव बन्ने सम्भावना प्रबल देखिन्छ ।
शर्मा संगठन विभाग प्रमुख र पुन अर्थ तथा केन्द्रीय कार्यालय प्रमुख हुन् । शर्मा महाधिवेशनमा उपस्थित भएपनि पुन भने स्वास्थ्य समस्याका कारण महाधिवेशन उद्धघाटन सत्रमा उपस्थित भएका थिएनन् ।