नेप्से परिसूचकमा दोहोरो अंकले वृद्दि, साढे चार अर्बको कारोबार


काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा पछि लगातार जसो घटिरहेको शेयर बजार राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै लगातार बढिरहेको छ ।

मंगलबार र बुधबार उच्च अंकले बढेको नेप्से परिसूचक बिहीबार १२ दशमलव ५३ अंकले बढेर २ हजार ५ सय २० दशमलव २३ अंकमा पुगेको छ । कारोबार संख्या र रकम पनि बिहीबार राम्रै देखिएको छ । दिनभर भएको कारोबारबाट ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँ पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने बिहीबार स्थिर जस्तै देखियो । जम्मा ०।०२ प्रतिशतले मात्रै वृद्धि भएर सेन्सेटिभ हरियो देखिएको छ । मंगलबार जस्तो धेरै कम्पनीहरुको शेयर मूल्य बिहीबार भने बढेन । हाइड्रोपावर, विकास बैंक र फाइनान्स कम्पनीहरुमा रहेका अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको छ । उता बैंकिङ, व्यापार, होटल तथा पर्यटन, लघुवित्त, जीवन तथा निर्जीवन बिमा कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

बिहीबार धेरै शेयर मूल्य बढ्नेमध्ये पहिलो नम्बरमा शिखर इन्स्यारेन्स देखिएको छ । शिखरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर १ हजार ६ सय ८८ रुपैयाँमा पुगेको छ । दोस्रो नम्बरमा भने बरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जीवन विकास लघुवित्त देखिएका छन् । उता धेर घट्नेहरुको सूचीमा भने गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, सिन्धु विकास बैंक र हिमालयन उर्जा विकास कम्पनी अग्रपंक्तिमा देखिएका छन् ।


प्रकाशित मिति : २०७८ पुष ८, बिहीबार

धेरै पढिएको

ताजा समाचार