इन्टरनेटमा स्पिड बढाउने होडबाजी, गुणस्तर भने जस्ताको तस्तै


काठमाडौं । पछिल्ला महिनाहरुमा इन्टरनेट बजारमा कम्पनीहरुबीच मूल्य र गतिमा बढ्दै गएको प्रतिस्पर्धा रोचक छ । ग्राहकलाई भने भनिएजति ‘स्पिड’मा इन्टरनेट नपाइने समस्याले छोडेको छैन ।

जेठसम्म नेपाली बजारमा १०० एमबीपीएसभन्दा माथिको इन्टरनेट सेवाको कुनै प्याकेज नै उपलब्ध थिएन । यो ६ महिनाका बीचमा उपभोक्ताले ६०० एमबीपीएस गतिको इन्टरनेट प्रतिस्पर्धी मूल्यमा पाउने अवस्था बनेको छ ।सेवा प्रदायकहरुले घोषणा गरेअनुसारै उच्च गतिको इन्टरनेट दिनेमा आशंका गर्ने ठाउँ भने प्रशस्तै छ । उच्च गतिको इन्टनेट प्याकेज घोषणा गरिरहेका कम्पनीले प्याकेजअनुसार गति उपलब्ध गराउन सक्लान् भन्नेमा स्वयम् नियामकीय निकाय दूरसञ्चार प्राधिकरण नै विश्वस्त छैन ।बजारमा बढेको प्रतिस्पर्धाका कारण कम्पनीहरु एकपछि अर्को गर्दै ‘स्पिड वार’को प्योकजहरु ल्याइरहेका छन् । जसले इन्टरनेट बजार चलायमान त भएको छ, तर त्यसबाट उपभोक्ताले कति लाभ उठाउन पाउँछन् भन्ने सुनिश्चित छैन ।वर्ल्डलिंक कम्युनिकेसनले गत बुधबार नेपालमै पहिलोपटक ६०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गर्‍यो । कम्तिमा १५० एमबीपीएस इन्टरनेट गति दिने सुनिश्चितातासहित वर्ल्डलिंकले प्याकेज घोषणा गरेको भोलिपल्टै क्लासिक टेकले छिट्टै १ जीबीपीएसको इन्टरनेट दिने सामाजिक सञ्जालमार्फत जनायो ।

नेपालमा पछिल्ला दिनमा उच्च गतिको इन्टरनेट दिन सेवा प्रदायक कम्पनीहरु तछाडमछाड गर्दैछन् । कुनै कम्पनीले उच्च गतिको इन्टरनेट सेवाको घोषणा गर्नासाथ अर्कोले त्यसलाई उछिन्ने गरी प्रस्तुत हुने क्रम चौधरी ग्रुपको सीजी कम्युनिकेसनले इन्टरनेट सेवा शुरु गरेपछि बढेको हो ।सीजी कम्युनिकेसन्सले १८ जेठ २०७८ मा एक हजार रुपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको थियो । सीजीले उच्च गतिको इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराउन थालेपछि अरु कम्पनी पनि दबावमा परे ।सीजी आउनुअघि डिसहोम फाइबर नेटले १०० एमबीपीएस गतिको इन्टरनेट सेवा नै बजारमा उपलब्ध उच्च गतिको इन्टरनेट प्याकेज थियो । सीजीले बजारमा अरुलाई उछिन्ने गरी सस्तो प्याकेजहरु घोषणा गरेपछि भने कम्पनीहरुबीच ‘स्पिड वार’ शुरु भयो ।

सीजीपछि लगत्तै सुबिसुले १५० एमबीपीएस गतिको इन्टरनेट ल्यायो । यही बीचमा भायानेट र क्लासिक टेकले पनि आफ्नो पुरानो प्याकेजहरु संशोधन गर्दै १०० एमबीपीएसको प्याकेज घोषणा गरे । भायानेट पनि पुरानो गतिमा बसिरहेन, कम्पनीले १७५ एमबीपीएस गतिको इन्टरनेट ल्याइसकेको छ ।बजारमा अन्य कम्पनी आक्रमक देखिएपछि डिसहोम, सीजी नेट र सुबिसुलाई पनि पछि पार्ने गरी वर्ल्डलिंकले ३०० एमबीपीएस गतिको इन्टरनेट सेवा ल्याइसकेको थियो ।अब स्तरीय राउटरसहित वर्ल्डलिंकले ६०० एमबीपीएस स्पिडको प्याकेज घोषणा गरेपछि अरु कम्पनी फेरि दबावमा छन् । अब क्लासिक टेकले घोषणा गरेअनुसार सेवा थाल्यो भने नेपालमा १ जीबीपीएस (१०२४ एमबीपीएस) गतिको इन्टरनेट सेवा लिन लामो समय कुर्नुपर्ने छैन ।


प्रकाशित मिति : २०७८ पुष ५, सोमबार

धेरै पढिएको

ताजा समाचार