दैलेख–सुर्खेत सडकखण्ड एक महिना बन्द हुने


काठमाडौँ : दैलेख–सुर्खेत सडकखण्ड बुधबारदेखि एक महिनाका लागि बन्द हुने भएको छ । सडकखण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भीरको चट्टान काट्नुपर्ने भएकाले पुस १४ गतेसम्म सडक बन्द गराइएको हो ।

डिभिजन सडक कार्यालयका अनुसार उक्त भीरमा साँघुरो बाटो भएकाले फराकिलो गर्न चट्टान काट्न लागिएको छ । अहिले ३ मिटर मात्रै सडक चौडा रहेको उक्त भीरमा १५ मिटर उचाइको भीर कटान गरेर सात मिटर सडक चौडा गर्ने कार्यालयको तयारी छ ।

सडक मर्मतको जिम्मा श्याम एन्ड शंकर जेभीलाई दिइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र सुर्खेतसँग समन्वय गरी डिभिजनले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गराउन आग्रह गरेको कार्यालयकी इन्जिनियर सजना पोखरेलले बताइन् ।

उनका अनुसार दैलेख सडक भएर सदरमुकाम, बेस्तडा, नौमुले, जाजरकोट क्षेत्रमा जाने सवारी साधनलाई कर्णाली राजमार्गको बाँगेसिमल–तल्लो डुंगेश्वर–सियाकोटको रुट तय गर्न अनुरोध गरिएको छ ।


प्रकाशित मिति : २०७८ मंसिर १६, बिहीबार

धेरै पढिएको

ताजा समाचार