कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु


काठमाडौँ : कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ । पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल कालीकोटका अनुसार दाँतका बिरामीले दैनिक सेवा लिनेको सङ्ख्या वृद्धि भइरहेको छ। आगामी दिनमा थप एक चिकित्सक आवश्यक रहेको छ । बिरामीको चाप पनि बढ्दै गएको छ । अस्पतालले दन्त उपचार सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको स्वास्थ्य सेवा कार्यालयले बताएको छ।

अस्पतालमा दाँतको सेवा लिनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ । अस्पतालमा हाल दाँत निकाल्ने, भर्ने, आरसिटी गर्ने, सफा गर्नेजस्ता उपचार सेवा दिइएको छ । आगामी दिनमा दाँत फेर्ने सेवा पनि सञ्चालन गरिने बताईएको छ ।

कालीकोटमा दन्त उपचार सेवा नहुँदा दाँतका बिरामीले उपचारका लागि सुर्खेत नेपालगन्जलगायत सुविधा सम्पन्न सहरमा जानुपर्ने बाध्यता हटेको स्थानियले बताएका छन।


प्रकाशित मिति : २०७८ मंसिर ५, आईतवार

धेरै पढिएको

ताजा समाचार