काठमाडौं : आर्थिक पत्रकारिता क्षेत्रकै हालसम्मको ठूलो राशिको ‘शारदादेवी-ढुण्डीराज भट्टराई आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा भएको छ । एक लाख राशि रहेको उक्त पुरस्कार क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बुधबार घोषणा गरेको हो।
बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी ढुण्डीराज भट्टराई – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्नेछ । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् । पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउनेछन् । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। १० लाख रुपैयाँ अक्षय कोषका रुपमा उपयोग गरिनेछ । सोही रकमको ब्याज वापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाइ छनौट गरी पुरस्कृत गरिनेछ ।