हुम्ला लिमीको कर्णाली नदीमा मोटर गुड्ने काठे पुल बन्यो


काठमाडौँ : हुम्लाको हिमालपारीको गाउँ लिमीमा कर्णाली नदीको सहायक नदीमा मोटर गुड्न काठे पुल बनेको छ । लिमीको हल्जीबाट तील गाउँजोड्ने सडक सञ्जालमा पर्ने नदीमा काठेपुल बनाइएको हो ।

पुलबाट गाडी गुड्न थालेसँगै स्थानीय बासिन्दालाई सहज भएको छ । नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय फुन्जोक लामाले हल्जी गाउँस्थित लिमी कर्णालीमा मोटर गुड्ने काठे पुल सञ्चालनमा आएको जानकारी दिए ।

स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको पुल सञ्चालनमा आएपछि लिमीको तील गाउँ सडक सञ्जालसँग जोडिएको छ । तील गाउँसम्म सडक निर्माण भए पनि पुल नभएको कारण यातायात सञ्चालनमा आउन सकेको थिएन । लिमीका दुई गाउँ हल्जी र जाँङ भने यसअघि नै सडक सञ्जालमा जोडिएका थिए ।

वडा अध्यक्ष पाल्जोर तामाङले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले आफ्नो सांसद कोटाको पूर्वाधार विकास विशेष कार्यक्रमबाट दिएको ३० लाख तथा स्थानीयको थप सहयोग गरी कुल ६२ लाख ५५ हजारको लागतमा पुल बनाइएको बताए ।

 


प्रकाशित मिति : २०७८ कार्तिक २९, सोमबार

धेरै पढिएको

ताजा समाचार