सल्यानमा जनगणना गर्न २ सय ९१ गणक फिल्डमा


काठमाडौँ: सल्यानमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय जनगणनाको लागि जिल्लाका १० पालिकामा २ सय ९१ गणक खटिएका छन् । जनगणनाबाट कोही पनि नछुटुन् भनेर उनीहरु अहिले पालिकाका सबै घरघरमा पुगेर गननाको काम सुरु गरेका हुन् ।

जिल्लाको शारदा नगरपालिकामा ५०, बन्गाड कुपिन्डे नगरपालिकामा ३८, बाग्चौर नगरपालिकामा ३५ छत्रेस्वरीमा २८, दार्मामा २१, कालीमाटीमा २७, कपुरकोटमा २४, कुमाखमा ३१, सिद्धकुमाखमा १५ र त्रिवेणी गाउँपालिकामा २२ जना गणक खटाएर गणनाको कम भइरहेको कार्यालयले जनाएको छ । कात्तिक २५ देखि भइरहेको जनगणना मंसिर ९ गते सम्म संचालन गरिने कार्यालय प्रमुख तथा जनगणना अधिकारी केशरबहादुर ओलीले बताए ।

उनले सुपरिवेक्षणका लागि ७३ जना सुपरिवेक्षक समेत खटाएको जानकारी गराए । उनका अनुसार सुपरिवेक्षकले भदौ ३० देखि असोज १८ सम्म घरपरिवार सूचीकरण गरिसकेका छन । सोही आधारमा गणकले गणना गर्नेछन् । गणकले प्रत्येक घरमा पुगेर पारिवारिक विवरण संकलन गरिरहेका छन् ।

दोस्रो चरणको गणना अन्तर्गत सबै स्थानीय तहका प्रत्येक वडा कार्यालय, वडास्तर, सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, पहुँच, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरण संकलन गरिनेछ । सोहीक्रममा घरपालुवा पशुपक्षीको विवरण पनि संकलन गरिनेछ । जनगणनाबाट वडास्तरको लैङ्गिक समावेशी तथ्यांक प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न नीति र योजना बनाउन सहयोग पुग्ने उनको भनाई छ ।

त्यत्ति मात्र नभई बाटोघाटो, पुल, विद्यालय, उद्योग, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिंचाई, खाद्यान्न, आपूर्ति, बसोबास व्यवस्था, विकास बजेट बाडफाँट सामाजिक सुरक्षा र मानव विकास अन्तर्गत पछाडि परेका समुदायको उत्थानका कार्यक्रम संचालन गर्न तथा संविधानको मौकिल हक कार्यान्वय र मूल्यांकन गर्न तथ्यांक प्राप्त हुने भएकाले जनगणनाको विशेष महत्त्व रहेकाले जनगणनामा उल्लेख्य रुपमा सहभागिता जनाउन उनले आग्रह गरेका छन् । जनगणनाको पहिलो चरण अन्तर्गत जिल्लामा ५४ हजार ७ सय घर परिवार सूचीकृत गरिएको उनको भनाई छ ।

 


प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार

धेरै पढिएको

ताजा समाचार