ओमानमा रहेका नेपाली आप्रवासी श्रमिकलाई स्वदेश फर्किने अवसर


ओमान सरकारले लामो समय देखि ओमानमा आवश्यक कागजातविहीन भई बसेका नेपाली आप्रवासी श्रमिकलाई जरिवाना बिनै स्वदेश फर्किने अवसर दिएको छ ।

ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर डिसेम्बर ३१ सम्म ओमान छोड्ने अवसर दिएकाले यो अवसर सदुपयोग गर्दै स्वदेश फर्किएमा श्रम र भिसासम्बन्धी कुनै पनि जरिवाना लाग्नेछैन ।

ओमानमा भिसा नवीकरण नगरी वा बिनाजानकारी आफ्नो रोजगारदाता छोडेर कागजातविहीन भएर काम गरिरहेका नेपाली श्रमिक बिनाजरिवाना स्वदेश फर्कन सक्ने ओमानमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । यो अवसरको प्रयोग गर्दै अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेको पनि दूतावास स्रोतले जनाएको छ ।

दूतावासले सूचनामार्फत ओमानमा विभिन्न कारणले समस्यामा परेका नेपालि हरुलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाताले प्रहरीमा उजुरी गरेकाको हकमा भने यो प्रक्रिया लागू नहुने दूतावासले सूचनामार्फत स्पष्ट पारेको छ ।


प्रकाशित मिति : २०७८ कार्तिक २४, बुधबार

धेरै पढिएको

ताजा समाचार