मेयरको घर अगाडि वडाध्यक्षहरूद्धारा फोहोर फ्याँकेर विरोध


काठमाडौँ: सहरको फोहोर व्यवस्थापनमा मेयरले बेवास्ता गरेको भन्दै जनकपुर उपमहानगरपालिकास्थित तीनवटा वडाका वडाध्यक्षले मेयरको निवास अगाडि नै फोहोर फ्याँकेर विरोध जनाएका छन् ।

वडा नं ३ का वडाअध्यक्ष जानकी रमण साह, वडा नं ४ का वडाअध्यक्ष सुदर्शन सिंह र वडा नं ७ का वडाअध्यक्ष दीपेन्द्र साहले आइतबार दिउँसो मेयर लालकिशोर साहको निवास अगाडि नै फोहोर फ्याँकेर विरोध जनाएका हुन् । तर मेयरले स्थानीयको गुनासो बेवास्ता गरेको भन्दै तीन वडाका अध्यक्षहरूले आफैं ट्याक्टरमा फोहोर ल्याई मेयरको निवास कलवार कुटी नजिकै लगेर फ्याँकिदिएका हुन् ।

‘फोहोर व्यवस्थापन गर्न धेरैपटक मेयरलाई भन्यौं । तर उहाँले वास्ता नै गर्नुभएन,’ ३ नं वडाका अध्यक्ष जानकी रमण साहले भने,‘हामी बाध्य भएर मेयरको निवासै अगाडि फोहोर फ्याँकेका हौँ ।’ उनीहरुले भने ।

वडाध्यक्षहरूले फोहोर व्यवस्थापनका लागि ट्याक्टर र सफाइकर्मी माग गरे पनि मेयरले उपलब्ध नगराउँदा उनीहरू थप आक्रोशित बनेका थिए । एक ट्याक्टर फोहोर मेयर साहको निवास अगाडि फ्याँकिदिएपछि वडाध्यक्षहरूलाई सुरक्षाकर्मीले रोक लगाएको थियो ।


प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार

धेरै पढिएको

ताजा समाचार