रारामा पर्यटकको सङ्ख्या बढ्यो


काठमाडौँ: समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइमा अवस्थित नेपालको सबै भन्दा ठूलो रारा तालमा कोरोनाका कारण गत वर्ष पर्यटकहरूको सङ्ख्या केही घटे पनि यस वर्ष भने स्थिति सामान्य भएसँगै रारा घुम्न जाने पर्यटकहरूको सङ्ख्या बढ्दै गएको अधिकारीहरूले बताएका छन्।

कोरोनाका कारण पछाडि परेको पर्यटन व्यवसाय फेरि अगाडि बढ्न थालेको मुगुका स्थानीय बासिन्दाले बताएका छन्। यो सँगै पर्यटकहरू घुम्न जान थालेपछि आफूहरूको आयआर्जन बढ्नुका साथै नयाँ नयाँ कुरा समेत सिक्न पाइने भएको त्यहाँका स्थानीय बासिन्दाहरुले बताएका छन् ।

रारामा घुम्न जाने पर्यटकहरूलाई सल्लेरी भन्ने ठाउँबाट रारा ताल सम्म पुग्न, तालको वरिपरि घुम्न र मुर्माटपमा पुगेर राराको दृश्य अवलोकन गर्नको लागि घोडा चढाएर लाने र ल्याउने व्यवस्था गरिएको स्थानीयले बताएका छन्।

अहिले पर्यटकहरूलाई घुमाउन ८२ वटा घोडाको व्यवस्था गरिएको छ।

घोडा व्यवस्थापन समितिले तोकेको भन्दा बढी शुल्क लिएको भनेर समितिमा गुनासो आएमा बढी भएको शुल्क सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने व्यवस्था गरिएको त्यहाँका एक स्थानीय वीरबहादुर रावलले बताए।

रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार, ‘रारा घुम्न आउने पर्यटकहरूको लागि ताल नजिकै एउटा होटेल र त्यहाँ व्यवस्था हुन नसकेमा २ सय जना जतिलाई बास बस्नको लागि होम स्टेको व्यवस्था भएपछि पर्यटकहरू पनि बढ्दै गएका छन्।’


प्रकाशित मिति : २०७८ कार्तिक १३, शनिबार

धेरै पढिएको

ताजा समाचार