पवित्र तीर्थस्थल दैलेख को पञ्चकोशी


पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ। प्राचीनकालका खसमल्ल राजाहरूले यस तीर्थलाई पञ्कोशी भनेर नामांकन गरी तीर्थ यात्राको थालनी गरे यता यस तीर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ। पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृ कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। भौगोलिक विकटताको कारणले पहिचान पाउन नसकेको पञ्चकोशीले अथाह धार्मिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक महत्त्व ओगटेको छ । पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्यता रहेको क्षेत्र हो ।

नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिंजालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख यसै पञ्चकोशी क्षेत्रको दुल्लुमा रहेको छ । यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शीरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीरखम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्त्व राख्दछन्। तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्त्व बोकेको स्थानको रूपमा लिइन्छ। यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, यहाँको संस्कृति र यस क्षेत्रमा रहेका अनगिन्ति धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूले पर्यटकहरूको मन लोभ्याउन सफल भएकाले यस क्षेत्रले पर्यटकीय महत्त्वलाई पनि त्यत्तिकै अंगालेको देखिन्छ । धार्मिक महत्त्वको कुरा गर्नुपर्दा यस क्षेत्रलाई अधिक पुण्य क्षेत्र मानिएको छ ।

पञ्चकोशी क्षेत्रको दुल्लु अवस्थित परम पावन वैश्वानर धाम मध्यको धुलेश्वरलाई केन्द्र मानेर पूर्वमा ५ कोष, पश्चिममा ५ कोष, उत्तरमा ५ कोष र दक्षिणमा ५ कोष गरेर जम्मा २० कोषको क्षेत्र नै पञ्चकोशी क्षेत्र हो। यस तीर्थको यात्रा गर्ने वैद्विक नियम रहेको छ । पुण्य प्राप्ति र पाप निवारणका लागि ५ दिने यात्रा गरिन्छ । देव प्रतिष्ठा, देव दर्शन र दिव्य शक्ति प्राप्तका लागि ९ वा ११ दिने यात्रा गरिन्छ । असाध्य शारीरिक र मानसिक रोग निवारण र ज्ञान वा मोक्ष प्राप्तीको लागि १५ दिने यात्रा गर्नु पर्छ। कुल वंशको सुधार र पितृ उद्धारका लागि २१ या २५ दिने यात्रा गर्नु पर्छ भने जगत कल्याण, राष्ट्र कल्याण र आत्म कल्याणका लागि ३१ दिने यात्रा गर्ने विधान रहेको छ ।

हरि र शंकर अथवा विष्णु र शिवको संयुक्त पावन भूमि मानि यस क्षेत्रमा हरिशंकरी यात्रा गर्ने गरिन्छ । वैश्वानर पुराणका अनुसार शिरस्थान, नाभिस्थान, कोटिला, धुलेश्वर र पादुकास्थानलाई पञ्चकोशी भनिएको छ । हरेक वर्ष मंसिर महिना को १ गते देखि यो क्षेत्रमा हरिशंकरी यात्राको सुरु गरेर पाँचैवटा तीर्थस्थानको विधिअनुसार पूजापाठ, दान, जपतप आदि कार्यहरू गरेर अन्त्येमा तल्लो डुङ्गेश्वरमा गएर विसर्जन गरिन्छ।

 

 


प्रकाशित मिति : २०७८ आश्विन २१, बिहीबार

धेरै पढिएको

ताजा समाचार