तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक


काठमाडौं :अफगानिस्तानको तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ ।

अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु गरिएको तालिबानले जनाएको छ। उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्। उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्। सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो तर यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीका अनुसार महिलाहरूले पढ्न पाउने भएतापनि पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको जनाएको छ ।

तालिबानका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ । त्यस्तै इस्लामी ड्रेस कोड पनि लागू गरिने छ। विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलग अलग कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधन नभएकाले तालिबानको नयाँ नीतिले महिलाहरु शिक्षाबाट वन्चित हुन सक्ने विश्लेषण पनि भइरहेको छ।

यो नयाँ नियमलाई अफगानिस्तानका नागरिकले स्वीकार गर्ने हक्कानीले विश्वास व्यक्त गरे । उनले भने, ‘जनता मुस्लिम हुन्, त्यसैले उनीहरुले यसलाई स्वीकार गर्छन् ।’

प्राथमिक र माध्यमिक विद्यालयबाट दिइने शिक्षा महिला र पुरुषहरुलाई अलग अलग हुने जनाईएको छ । यस्तो रुढीवादी परम्परा अफगानिस्तानमा पहिलेदेखिकै चल्दै आईरहेको छ । छात्राहरुले शिक्षा तालिम लिन पूरै शरीर ढाकिने पोशाक लगाउनु पर्नेछ । राष्ट्रपति भवनमा तालिबानले आफ्नो झण्डा फहराएको भोलिपल्ट उच्च शिक्षा नीति घोषणा गरेको हो । यसलाई तालिबान शासन सुरु भएको संकेतको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।


प्रकाशित मिति : २०७८ भाद्र २८, सोमबार

धेरै पढिएको

ताजा समाचार