संखुवासभा सामूहिक हत्याकाण्ड : लखेटी लखेटी ६ जनाको हत्या गर्नुको कारण यस्तो ?


संखुवासभा : गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५२ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपक र सात वर्षीया नातिनी गोमाको हत्या भएको दुई दिनसम्म पनि प्रहरी टोलीले हत्या कसले गरेको भनेर ठोस प्रमाण फेला पार्न सकेको थिएन ।  तर,अब भने उक्त घटनाको बारेमा सबै खुलस्त हुँदै गईरहेको छ।

उम्लिङका तेजबहादुर  र लोकबहादुर कार्कीको घर एक झन्डै १ सय ५० मिटरको दूरीमा छ । नातामा लोकबहादुर कार्की तेजबहादुरका भतिजा हुन् । उनी हत्या गरिएका तेजबहादुरका बढावाका नाति थिए । तर, तिनै तेजबहादुरसहित उनका परिवारका ६ जनाको हत्या भतिजा लोकबहादुरले गरेको खुलासा भएको छ ।

एकै परिवारका ६ जनाको हत्याले राष्ट्रिय रूप लिएपछि अनुसन्धानमा गम्भीर रूपमा जुटेको प्रहरी टोलीले हत्याको एक साता पनि नबित्दै अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले आइतबार हत्या अभियुक्त लोकबहादुरलाई जिल्ला प्रहरी कार्यालय चैनपुरमा सबुद प्रमाणसहित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत सोमबार बिहान तेजबहादुर झिसमिसे उज्यालोमै घरबाट निस्किएका थिए । उनी लोकबहादुरको घर हुँदै हिँडिरहेका थिए । त्यसबेला लोकबहादुर घरमा एक्लै थिए । आमा गुमाइसकेका उनी बाबु र भाइसँग घरमै बस्दै आएकोमा त्यस दिन बिहान सबेरै दुवै जना घरबाट निस्किसकेका थिए काम गर्न । खेतमा धान गोड्न खेतालाको खोजीमा निस्किएका तेजबहादुरलाई एक्लै देखेपछि उनी आफूलाई हेप्ने गरेको भन्दै जाइलागे । घरछेवैमा भेटिएको दाउराले अन्धाधुन्ध आक्रमण गरे । कुनै प्रतिवाद नै गर्न नपाई तेजबहादुर लडे । त्यसपछि उनले निरन्तर तेजबहादुरमाथि प्रहार गरिराखे । यो प्रहार त्यतिखेरसम्म चल्यो, जबसम्म तेजबहादुर जीवित छन् भन्ने उनको मनमा लागिरह्यो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार, मृतक तेजबहादुरलाई लोकबहादुर मन पराउँदैनथे । आफूलाई हेप्ने, होच्याउने गरेको र ‘बदला’ लिन हत्या गर्नुपरेको उनले बयान दिएका छन् । लोकबहादुरले तेजबहादुरको हत्या गर्नुको कारण यो मात्र होइन, यसमा रुढिवासी संस्कार पनि जोडिएर आएको देखिन्छ । भएको के रहेछ भने, केही महिनाअघि तेजबहादुरकै घरमा लोकबहादुरकी आमा लडेर गम्भीर घाइते बनिन् । गम्भीर घाइते आमालाई उपचारका लागि झापाको एक अस्पताल लगियो, उपचारकै क्रममा मृत्यु भयो ।

तर, यो कुरालाई लोकबहादुरले तेजबहादुरको षड्यन्त्रका रूपमा बुझे । आमाको मृत्युमा तेजबहादुरको हात र षड्यन्त्र भएको उनमा छाप परेको थियो । उनले यो कुरालाई मनमा राखिरहे । कतै देखाएनन् । तर, भित्रभित्रै ‘बदला’ लिने अठोट गरिरहे । अन्ततः गत सोमबार उनले तेजबहादुरको हत्या गरे ।

 

 

लखेटी लखेटी हत्या गर्नुको कारण के ?

सामुहिक हत्या भएकोमा तेजबहादुरको हत्या गर्ने योजना बनाएका लोकबहादुरले किन अरू पाँच जनाको हत्या गरे त भन्ने प्रश्नको जवाफमा लोकबहादुरले अनुसन्धानमा जुटेका प्रहरीलाई भनेका छन्, ‘लोकबहादुरबाहेक अन्यको हत्या गर्ने कुनै योजना थिएन तर परिस्थिति त्यस्तै बन्यो, अनि एकपछि अर्कोगरी तेजबहादुरका परिवारको हत्या गरें।’ हत्या अभियुक्त लोकबहादुरले अनुसन्धानरत प्रहरीलाई दिएको बयानअनुसार, ‘तेजबहादुरलाई मार्दा परिवारका अन्य सदस्यले देखेर आएपछि अरूको पनि हत्या गर्नुपरेको हो ।’ लोकबहादुरको बयानअनुसार तेजबहादुरको हत्या गरेको उनकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि घटनास्थल आए । त्यसपछि लोकबहादुर कमला र रञ्जनामाथि जाइलागे । उनीहरू दुवै भाग्दै थिए । लोकबहादुर पनि पछिपछि कुदे । र, दुवै जनालाई त्यही दाउराले टाउकोसहित शरीरका विभिन्न भागमा प्रहार गरे । तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको थियो ।

कमला र रञ्जनाको हत्या भएको तेजबहादुरका नाति विपिन र नातिनी गोमाले देखेका थिए । विपिन र गोमा रञ्जनाका छोरा छोरी हुन् । त्यसपछि हत्या अभियुक्त लोकबहादुर विपिन र गोमातर्फ अघि बढे र, त्यही दाउराले उनीहरूको टाउकोमा प्रहारपछि क्षणभरमै दुवै जनाको मृत्यु भयो । माथिपट्टिको बारीमा उनीहरूको शव भेटिएको थियो । पाँच जनाको हत्या गरिसकेपछि अन्तिममा उनले तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको घरभित्रै खोले पकाइरहेको अवस्थामा उनको हत्या भएको थियो । उक्त घरका तेजबहादुरका वृद्ध बाबु भने राम्रोसँग आँखा नदेख्ने र कान पनि नसुन्ने भएकाले उनी जोगिएका थिए ।

प्रहरीले लोकबहादुरको घरदेखि रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद गरेको छ । लोकबहादुर मानिसक रोगीसमेत भएको र एक वर्षअघिदेखि औषधि खाइरहेको समेत भेटिएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति : २०७८ भाद्र २७, आईतवार

धेरै पढिएको

ताजा समाचार