‘तले गाउलाई भुलि दिएछु’


पुनर्जन्म हुन्छ भने नै पनि, त्यस्ता दिन आउला नआउला
                    तर,
मैले साच्चीनै तलेगाउलाई भुलिदिएछु ।
  घरभित्रै धारा पाएपछि,त्यो पात्लेको फेदमुनि रसाउने
               खोल्साको कुवा भुलिदिएछु ।
  अहिले त घरमै ग्याँस चुला बलेपछि त्यो ठूलो पाखाको
               चिलाउनेको दाउरा भुलिदिएछु ।
एकै धारादेखि तातो चिसो पानी झर्छ आज,कुवा छेऊ
          दाउरा बाली नुहाएको भुलिदिएछु ।
भान्छामै भेट्छु अनेक थरी अचार अचेल,चार बजे आई बारीको
        टमाटर अनि बासी भात खाएको भुलिदिएछु ।
 जतिबेलै नयाँ कपडा फेर्न पाउँछ ज्यानले आज, उतिबेला स्कुलकै लुगामा
                          दसैं मनाएको चट्टै भुलिदिएछु ।
न लामो हिँडाइ, न फित्ते चप्पल, त्यतिबेला पत्कर सोहोर्दा
             चप्पल चुडिए लाइटरले गाँसेको भुलिदिएछु ।
रङ्गीचङ्गी प्रविधि भित्रिए अहिले
              नाच्नलाई,
तिहारमा मादल बजाई ,आफु आफै
     गाएको नाचेको भुलिदिएछु ।
साच्ची भन्ने हो भने आधुनिकताले डस्नु डस्यो मलाई,
सहरीया रिमीझिमीले छोएर
          हो की ,
त्यो प्यारो तलेगाउलाई
त चट्टै भुलिदिएछु ।
ए नि लै लै भाकामा पातबजाइ गोठालामा खहरेपाखा डुलेको,
मकैको ढोड बाली जाडो काटीएको ,
घर घरमै भट्टी गाउँमा रमाइलो मानी जाँड खाई मातिएको,
खनिउको बोटलाई गाडी घोडा बनाई मच्चिएको,
रुखको टुप्पो विदेश अनि फेदमा स्वदेश भन्दै पातकोपैसा गनिएको,
ति सबै बाल्यकालीन जीवन खोक्रो आधुनिकता र
सहरिया परिवेशसँगै झट्टै भुलिदिएछु।
इमान्दार भएर भन्ने हो भने साच्ची नै मैले
तलेगाउलाई भुलिदिएछु ।
रचना:सबिना ‘जिज्ञासु’
लेटाङ, मोरङ

 


प्रकाशित मिति : २०७८ भाद्र ४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार