टेलिभिजनबाट आउन थाले रियालिटी सो


कोरोना संक्रमणमा कमी भएसँगै विभिन्न टेलिभिजनमा रियालिटी सो सुरु भएको छ । यसै क्रममा निर्देशक निर्माता विशाल भण्डारीका अनुसार हास्यप्रधान रियालिटी सो कमेडी च्याम्पियनको छायांकनसँगै प्रसारण सुरु गरिएको छ । यसको केही साता छायांकन बन्द गरिएको थियो । यो कार्यक्रम दुई साता अघिबाट सुरु गरिएको छ । यसको निर्णायकमा सन्तोष पन्त, प्रदीप भट्टराई, ऋचा शर्मा, मनोज गजुरेललगायत रहेका छन् ।

कोरोना संक्रमण कम भएसँग आफूहरूले सामाजिक दूरी कायम गरेर कमेडी च्याम्पिएको छायांकनसँगै गत साताबाट प्रसारण सुरु गरेको पनि निर्देशक भण्डारीले बताएका छन् । उनका अनुसार यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । दोस्रो संस्करणको यो कार्यक्रमको २०औं शृंखला यो साता प्रसारण भएको छ ।

यस्तै भ्वाइस अफ नेपालको तेस्रो संस्करणको छायांकन पनि करिब दुई महिनापछि गत साताबाट सुरु भएको छ । यसको छायांनकनसँगै प्रसारण पनि सुरु भएको हिमालय टेलिभिजनका सीईओ श्याम कँडेलले बताएका छन् ।

यो कार्यक्रमको कोच दीप श्रेष्ठ, प्रमोद खरेलसहितको टिमलाई कोरोना संक्रमण भएपछि यो कार्यक्रम केही समयका लागि बन्द भएको थियो । दीपको ठाउँमा राजेश पायल राईलाई कोचमा राखेर यसको छायांकन गत साताबाट सुरु गरिएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो कार्यक्रम २६औं शृंखला यो साता मात्र प्रसारण भएको छ । अहिले आफूहरूले सामाजिक दूरी कायम गरेर यो कार्यक्रमलाई बनाइरहेको पनि कँडेलले बताएका छन् ।

यस्ता रियालिटी सोको छायांकन गर्दा ठूलो टिम हुने र कोरोना भाइरस एकबाट अर्कोमा सर्ने सम्भावना बढी भएका कारण पनि १६ वैशाखबाट असारको तेस्रो सातासम्म नेपालका सबै टेलिभिजनबाट आउने रियालिटी सोको प्रसारण रोकिएको थियो । असारको तेस्रो साताबाट सबै टेलिभिजनको रियालिटी सोको छायांकनसँगै प्रसारण पनि सुरु गरिएको छ ।

यस्तै नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी रियालिटी सो’ ‘दोहोरी च्याम्पियन’मा पनि गत साताबाट सुरु गरिएको छ । यो कार्यक्रमको उत्कृष्ट १६ समूहको प्रतिस्पर्धा सुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’बाट पुनः प्रवेश गरेका समूहको प्रतिस्पर्धा सुरु भएको हो । योसँगै ‘दोहोरी च्याम्पियन’ भोटिङ राउन्डमा समेत प्रवेश गरेको छ । यसअघि निर्णायकको आधारमा मात्र हुने निर्णय अब दर्शकको हातमा पनि हुनेछ ।

नेपाल टेलिभिजनको प्रस्तुति रहेको ‘दोहोरी च्याम्पियन’मा ‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा छन् । यस्तै, लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को सञ्चालकको भूमिकामा छन् ।

अब उत्कृष्ट १६ समूहबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट ८ समूह छनोट गरिनेछ । दर्शकको भोटिङलाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत आधारमा प्रतियोगीती उत्कृष्ट ८ मा प्रवेश गर्ने शर्माले बताए । उत्कृष्ट ८ बाट ४ हुँदै प्रतियोगिता फाइनलमा प्रवेश गर्नेछ ।

फिजिकल र अडिसन राउन्डबाट छनोट भएका ३५ समूहबाट उत्कृष्ट २४ हुँदै उत्कृष्ट १२ समूह छनोट गरिएको थियो । भोटिङ राउन्डमा प्रवेश गर्नुअगाडि एक निर्णायकले एक–एक समूहलाई ‘वाइल्ड कार्ड’मार्फत पुनः प्रवेश गराउन पाउने व्यवस्था थियो । सोहीअनुसार ‘वाइल्ड कार्ड’मार्फत निर्णायकले १–१ समूह छनोट गरेर पुनः प्रवेश गराएको निर्णायकमध्येका एक चन्द्र शर्माले जानकारी दिए ।

‘दोहोरी च्याम्पियन’लाई लोकदोहोरी क्षेत्रकै ठूलो दोहोरी रियालिटी सो भनिएको छ । यसमा प्रथम हुने समूहलाई नगद २० लाख, दोस्रो हुने समूहलाई नगद १५ लाख र तृतीय हुने समूहलाई नगद १० लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगीता हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।


प्रकाशित मिति : २०७८ असार ३०, बुधबार

धेरै पढिएको

ताजा समाचार